झापा । विभिन्न जिल्लालगायत भारतबाट चोरी गरी ल्याइएका मोटरसाइकललाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय इलामले विशेष अभियान सञ्चालन गरिरहेको छ ।

 

इलाम जिल्लाको विभिन्न स्थानहरुमा चेकजाँच गर्ने, चेक प्वाइन्ट स्थापना गर्ने र शंकास्पद मोटरसाइकलका सम्बन्धमा विशेष अनुसन्धान गर्ने क्रममा विभिन्न स्थानमा कागजपत्र नभएका चोरीका ७ थान मोटरसाइकल पक्राउ गरी अनुसन्धानमा गरिरहेको प्रहरीले जनाएको छ ।

 

सोही अभियानअन्तर्गत केही समय पहिला पनि चोरी गर्दा गर्दैको अवस्थामा चोरीका ७ थान मोटरसाइकल र सो कार्यमा संलग्न आरोपितहरु पक्राउ गरी कानुनी कार्वाहीको प्रक्रियामा रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

 

गत पुस महिनादेखि हालसम्म जिल्ला प्रहरी कार्यालय इलाम र मातहत प्रहरी युनिटबाट जम्मा १४ वटा मोटरसाइकल पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी डीएसपी जितेन्द्रकुमार बस्नेतले बताए ।

 

जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक दिलिप घिमिरेले मातहतका सबै प्रहरी इकाईहरुलाई अभियानकै रुपमा यो सरप्राइज चेकप्वाइन्ट खडा गरी कागजपत्र नभएका मोटरसाइकल पक्राउ गर्न निर्देशन दिएको डीएसपी बस्नेतले जानकारी दिए ।