शनिश्चरे । किरात राई यायोक्खा अर्जुनधारा नगर समितिको १०औं अधिवेशनबाट विजय साम्पाङ राई अध्यक्ष पदमा निर्वाचित भएका छन्।

 

यायोक्खा भवनमा आज आयोजित अधिवेशनबाट आगमी तीन वर्षका लागि राई अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । समितिको वरिष्ठ उपाध्यक्षमा भुपा राई, उपाध्यक्षमा आशा राई, सचिव सिंहबहादुर राई, सहसचिव प्रेमबहादुर राई र कोषाध्यक्ष सुम्निमा राई निर्वाचित भएका छन् ।

 

त्यस्तै समितिको सदस्यहरुमा ढाकबहादुर राई, जमुना राई, सोमा राई चयन भएका छन् । यायोक्खाको विधान बमोजिम १७ देखि २१ सदस्यीय कार्य समिति रहेन व्यवस्था छ । बाँकी ८ सदस्य कार्यसमितिको पहिलो बैठकले मनोनय गर्दै १७ सदस्यीय समिति बनाइने नवनिर्वाचित अध्यक्ष राईले जानकारी दिएका छन्।

 

यायोक्खा अध्यक्ष क्या मानबहादुर राईको सभापतित्वमा भएको अधिवेशनको उद्घाटन प्रमुख अतिथि यायोक्खा जिल्ला सहसचिव चिजा राईले गरेकी थिइन् ।

 

यसैगरी अधिवेशनमा ज्येष्ठ सदस्य ८९ वर्षीय पूर्णमाया राई र ८५ वर्षीय गणेशबहादुर राईलाई पगरी गुथेर र सम्मानपत्रले सम्मान गरिएको थियो ।

 

त्यस्तै यायोक्खाद्वारा सञ्चालित किरात बचत कल्याण कोषका असल बचतकर्ता क्या असनबहादुर राई, असल ऋणी डम्बरसिंह बान्तावा राईलाई सम्मान गरिएको थियो भने यायोक्खाका शुभचिन्तक बिर्तामोड १ निवासी देवीमाया बान्तावा राईलाई सम्मान गरिएको सचिव सरिता राईले बताइन् ।

 

 

कार्यक्रममा सांगठानिक प्रतिवेदन अध्यक्ष क्या मानबहादुर राई, आर्थिक प्रतिवेदन वरिष्ठ उपाध्यक्ष क्या शिवकुमार राई र बचत कल्याण कोषको प्रतिवेदन कोषाध्यक्ष भुपा राईले वाचन गरेका थिए ।

 

कार्यक्रममा फोनिजका दिपीन राई, जनप्रतिनिधि देवकुमार राई, बुट्टाबारी संयुक्त वडा समितिका सार्कीधन राई लगायतले शुभकामना मन्तव्य राखेका थिए भने बान्तावा खिम अर्जुनधाराका अध्यक्ष सिद्धिमान राई, चाम्लिङ खाम्बातिमका उपाध्यक्ष कुमार चाम्लिङ लगायतको आतिथ्य रहेको थियो ।