शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिका ७ मा रहेको डांग्रे बाबा सेतीदेवी पाथिभरा माता धाममा तीन दिने धार्मिक महोत्सव हुने भएको छ । धाममा धार्मिक महोत्सव दोस्रो पटक हुन लागेको हो ।

 

धाम सञ्चालक समितिको निर्णयअनुसार आउँदो चैत २७, २८ र २९ गते धार्मिक महोत्सव आयोजना गरिने भएको छ । महोत्सवको तयारीका लागि आज धाम परिसरमा भएको एक कार्यक्रममा नगर प्रमुख बलदेव सिंह गोम्देनले समाजमा सकारात्मक प्रभाव पार्ने उद्देश्यसहित महोत्सव आयोजना गर्न सुझाव दिए ।

 

संस्थाको पनि सहभागितासहित सामाजिक काम गर्दा नगर र व्यक्तिगत तर्फबाट पनि सहयोग दिने उनले बचन दिएका थिए । स्थानीय सरकारको मात्र मुख नताक्न आग्रह गर्दै संस्थामा रहेका पदाधिकारी, सदस्यको पनि उत्तिकै सक्रियताको खाँचो उनले औँल्याएका थिए ।

 

सोही कार्यक्रमबाट महोत्सव सफल बनाउन धामका सल्लाहकार चतुर्भुज काफ्ले सर्वसम्मतरुपमा संयोजक चयन भएका छन् । महोत्सवमा पूजा अर्चनासहित विभिन्न जातजातिको सांस्कृति झाँकी प्रदर्शन गरिने भएको छ । अन्य उपसमिति भने अर्काे भेलाबाट चयन गरिने धाम समितिले जनाएकाे छ ।

 

यस्तै, धाम परिसरमा रहेको २४ धुर जग्गा खरिद गर्नका लागि पनि यसपटक संस्थाले ‘भूमि दान, महादान अभियान’ सुरु गर्ने धामका सचिव रोशन लिम्बूले जानकारी दिए । यसका लागि समितिले आगामी बैठकबाट टुंगो लगाउने उनको भनाइ थियो ।

 

धामका अध्यक्ष इन्द्रबहादुर मगर (काली)को अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ७ का अध्यक्ष गोविन्द खतिवडा, धामका सल्लाहकार, सञ्चारकर्मीलगायतले महोत्सवको तयारी र व्यवस्थापनका बारेमा आफ्ना धारणा राखेका थिए ।