झापा । साविक प्रदेश नम्बर १ लाई नामांकन गरिएको कोशी प्रदेश खारेजीको मागसहित बन्द गराउँदै हिँड्ने पाँचजना बन्दकर्ता झापामा पक्राउ परेका छन् ।

 

स्कुटीसहित पाँचजना बन्दकर्तालाई आज बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्र रिजालले बताए । उनले बिर्तामोडबाट तीनजना र काँकडभिट्टाबाट दुई जनालाई पक्राउ गरिएको जानकारी दिए ।

 

पक्राउ पर्नेहरुमा जनता समाजवादी पार्टीका प्रदेश सदस्य गौरीमान राई, संघीय लिम्बुवान पार्टीका अध्यक्ष सन्जुहाङ पालुङ्वाका छोरा सामी पालुङ्वा, आदिवासी जनजाति महासंघका मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङ, पवन मेचेलगायत रहेको आदिवासी जनजाति महासंघका जिल्ला अध्यक्ष पाण्डवलाल चौधरीले बताए ।

 

विभिन्न राजनीतिक दल र जातीय संगठनहरुले झापासहित पूर्वका १४ जिल्लामा आज बन्दको आव्हान गरेका छन् । गत फागुन १७ गते प्रदेश १ लाई कोशी प्रदेश नामकरण गरिएसंगै त्यसको विरोधमा राजनीतिक दल र जातीय संगठनहरु उत्रिएका हुन् । छ वटा राजनीतिक दल र ३४ वटा जातीय संगठनले शनिबार साँझ झापाको बिर्तामोडमा कोशी प्रदेश खारेजीको माग गर्दै राँके जुलुस प्रदर्शन गरेका थिए ।

 

राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लिम्बुवान पार्टी नेपाल, कोचिला संघर्ष समिति, संघीय खम्बुवान लोकतान्त्रिक पार्टी, लिम्बुवान राष्ट्रिय समिति लोसपा र किरात लिम्बुवान प्रदेश नामांकन अभियानबीच हिजो पार्टी एकीकरण भएसंगै आन्दोलनका कार्यक्रम अघि बढाएका छन् ।

 

त्यस्तै कोशी प्रदेश खारेजीको लागि प्रदेश नं. १ पुनः नामांकन संयुक्त संघर्ष समितिले पनि आज प्रदेश बन्दको घोषणा गरेको छ । जसका लागि नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरीको संयोजकत्वमा संघर्ष समिति तयार गरिएको थियो ।

 

त्यस्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मंचको लिम्बुवान भोलेन्टियर्सले पनि आज बन्दको आव्हान गरेको छ । बन्दका कारण यातायातका साधनहरु आंशिक रुपमा चलेका छन् भने बजार खुलेका छैनन् ।