आठराई । तेह्रथुमको आठराई गाउँपालिका ५ छातेढुंगास्थित होडा बस्तीमा आगलागी हुँदा ४ घर जलेका छन् । बस्तीको फेदीमा रहेको जंगलमा लागेको आगो बस्तीमा सल्किँदा ४ घर जलेको वडाध्यक्ष विष्णुप्रसाद ओलीले जानकारी दिए ।

 

आगलागीमा परी स्थानीय भिम लिम्बू, अटलबहादुर राई, अमरबहादुर राई र जितेन्द्र राईको घर जलेका छन् । आगो नियन्त्रणका लागि गाउँपालिकाको दमकल, प्रहरी र स्थानीयवासीले प्रयास गरेका थिए । गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमका अनुसार सबैको प्रयासबाट राति ७ बजेमात्र आगो नियन्त्रणमा आएको थियो ।

 

यसअघि बस्तीको बीचबीचमा जंगल रहेको र बेगले हावा चलिहरेकाले आगो नियन्त्रणमा कठिनाइ भएको थियो । हावाका कारण आगजनी भएको स्थानबाट करिब ४ सय मिटर टाढा रहेको घरमा आगो सल्किएको अध्यक्ष पाहिमले बताए ।

 

आगलागीबाट ३० लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान छ । दुई दिनअघि पनि छातेढुंगाकै अकबरे चोकमा आगलागी हुँदा एक घर जलेको थियो । जंगलमा लागेको आगो नियन्त्रणमा नआउँदा बस्तीका घरमा पनि आगो सल्किने गरेको छ ।

 

यसअघि पनि आठराई चुहानडाँडामा आगलागी हुँदा १४ घर जलेर नष्ट भएको थियो । यसैबीच, पालिका अध्यक्ष पाहिम नेतृत्वको टोली अहिले पीडितको घरमा राहत लिएर जाने तयारी गरिरहेको छ ।