दमक । एनआइसी एसिया बैकले समयमा किस्ता रकम नबुझाएको भन्दै एक ऋणीको घरमा सुरक्षा गार्ड पठाएको छ । बैँकको यस कार्यको अहिले सर्वत्र आलोचना गरिएको छ । बैँकले पैसा उठाउन चालेको यस कदमलाई दादागिरी शैली अपनाएको भन्दै सर्वत्र निन्दासमेत गरिएको छ ।

 

दमक नगरपालिका ५ का दुर्गाप्रसाद कँडेलको घरमा ३ दिनदेखि बैँकले घरमा बैँकका सुरक्षागार्ड पठाएको हो । हाल कँडेलको घरमा दैनिक ९ बजेदेखि बेलुकी ५ बजेसम्म घरको दैलोमा सुरक्षा गार्ड राख्ने गरेको छ । आफूले व्यवसायमा समस्या आएकोले ३ महिना अगाडिदेखि बैँकमा साँवा ब्याज हाल्न नपाएको घरधनी कँडेलले बताए ।

 

४ दिन पहिले बैँकले जति हुन्छ त्यति रकम लिएर आउनु भनेकोमा आफूसँग भएको १० हजार रुपैयाँ लगेर भौचर हालेकोमा सोही दिनदेखि बैँकले आफ्नो धितोको सुरक्षा गर्न भन्दै एकजना नियमितरुपमा सुरक्षागार्ड राखिदिएको घरधनी कँडेलले बताए ।

 

बैँकमा आफ्नो १ करोड रुपैयाँ ऋण लिएकोमा अब साँवा ब्याज गरेर ९७ लाख रुपैयाँ तिर्न बाँकी रहेको उनको भनाइ छ । घरमा पाहुनाहरु आउँदा सुरक्षागार्डले सलाम हान्ने गरेको बताउँदै आफ्नो समाज र आफन्तजनमा बेइज्जती भएको श्रीमती चन्द्रकला कँडेलले बताउँछिन् ।

 

बैँकले समयमा साँवा ब्याज नतिर्दा चिठी काट्ने, सूचना टाँस्ने र लिलामीको प्रक्रिया गर्नुपर्नेमा घरमै सुरक्षा गार्ड पठाएर आफूहरुलाई बन्धक बनाएसरह भएको कडेँल परिवारको गुनासो रहेको छ ।

 

यसबारेमा नेपाल राष्ट्र बैँकका सहायक प्रवक्ता नारायणप्रसाद पोखरेल एनआईसीमात्रै नभएर कुनै पनि बैँकले यसरी ऋणीको घरमा सुरक्षागार्ड राख्नु केन्द्रीय बैँकको नीतिविपरीत भएको बताएका छन् । बैँकले आफ्नो सम्पत्तिको सुरक्षा र कर्जा असुलीका अन्य थुप्रै तौरतरिका हुँदाहुँदै बैँकले यसो गर्नु बैँकको नीतिविपरीत भएको प्रवक्ता पोखरेलले बताए ।

 

यता एनआइसी एसिया बैँकका दमक शाखा प्रबन्धक तीर्थ प्रधानले दमकमा ऋणीको घरमा बैँकले सुरक्षागार्ड पठाएको बताउँदै यसको सम्पूर्ण जिम्मेवार बैँकको केन्द्रीय समितिले हेर्ने भएकोले किन सुरक्षागार्ड पठाइयो भन्नेबारेमा आफूलाई जानकारी नभएको सुनाए ।