झापा । झापाको मेचीनगरबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई ७० ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

 

बिहीबार साँझ अन्दाजी ६ः४५ बजे इलाका प्रहरी कार्यालय नकलबन्दाबाट खटिएको प्रहरी टोलीले मेचीनगर ५ मा भारतबाट नेपाल आउँदै गरेका मेचीनगर ५ स्थित बद्रीटोलका २३ वर्षीय विक्रम दनुवार नुवाकोट तार्केश्वतर गाउँपालिका ३ का ३० वर्षीय सविन परियार र सिन्धुली दुधौली नगरपालिका ११ का ३० वर्षीय खड्ग सुनुवारलाई पक्राउ गरेको हो ।

 

उनीहरुमाथि शंका लागी चेकजाँच गर्दा निजहरूको साथबाट लागूऔषध ७० ग्राम ब्राउनसुगर (खैरो हेरोइन) प्रहरीले बरामद गरेको थियो । पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिएका छन् ।