धुलाबारी । झापाका दनुवार समुदायले शनिबार रक्तदान गर्नुका साथै सांस्कतिक कार्यक्रम सम्पन्न गरेका छन् । दनुवार जागरण समिति झापा र दनुवार जागरण समिति मेचीनगरको संयुक्त आयोजनामा शनिबार धुलाबारीस्थित पशु हटियामा कार्यक्रम गरेका हुन् ।

 

समितिका अध्यक्ष श्याम दनुवारको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको उद्घाटन नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरीले गरेका थिए । यमनलाल दनुवारले मंगलाचरण स्तुतिसहित स्वागत गरेको कार्यक्रममा समितिमा आवद्ध कलाकारहरुले दनुवार समुदायसम्बन्धी गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

 

त्यसैगरी कार्यक्रममा ७० वर्षमाथिका १३ जना ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाई सम्मानित गरिएको थियो । सोही कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी झापा शाखाको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेका थिए ।

 

कार्यक्रममा दनुवार जागरण समितिका केन्द्रीय अध्यक्ष रामकुमार सिंह दनुवार, नेपाल आदिवासी जनजाति महासंघ मेचीनगरका अध्यक्ष ओमप्रकाश खापुङ, महासंघ अर्जुनधाराका उपाध्यक्ष सृजलाल चौधरी, मेचीनगर १० का वडाध्यक्ष नारायण खनाल, अर्जुनधारा ६ का वडा सदस्य भीम राईलगायतले आफ्ना भनाइ राखेका थिए ।

 

उक्त कार्यक्रमको सञ्चालन समितिका सल्लाहकारद्वय अग्निमाया दनुवार र मदन दनुवारले गरेका थिए । दनुवार समुदायको संस्कार र संस्कृतिको प्रबद्र्धन गर्ने उद्वेश्यले पहिलोपटक महोत्सवको रुपमा आयोजना गरि दनुवार समुदायको गरगहना, बाजागाजा, भेषभूषा, मौलिक खानेकुरा आदिको स्टल राख्ने उद्देश्य लिइए पनि विविध कारणवश सम्भव नभएको समितिले जनाएको छ ।