झापा । किरात राई यायोक्खा अर्जुनधारा नगर समितिले २०८० सालको उभौली पर्व साकेला सिली महोत्सवसँगै बिहीबार समापन गरेको छ । अर्जुनधारा ११ स्थित साकेला थानमा भव्य सांस्कृतिक कार्यक्रमको आयोजना गरी यसवर्षको उभौली पर्व समापन गरेको हो ।

 

‘संघीय गणतन्त्र नेपालमा पूख्र्यौली भूमिको पहिचान, किरात स्वायत्त राज्य निर्माण गर्ने हाम्रो अभियान’ भन्ने नारासहित उभौली पर्व २०८०को अवसरमा बिहीबार साकेला सिली महोत्सव सम्पन्न भएको हो ।

 

किरात राई यायोक्खा झापाका वरिष्ठ उपाध्यक्ष केवलराम राईले धनु काँडको प्रयोग गरेर उद्घाटन गरेको कार्यक्रममा अर्जुनधारासहित बुद्धशान्ति २, बुद्धशान्ति ४, हल्दीबारी १, बिर्तामोड १, २, ३, ४, र ५ तथा अर्जुनधारा ६ र ११, बिर्तामोड ६ र ७, मेचीनगर ६, ११, १२, १३ र १४ का सांस्कृतिक टोलीले साकेला सिली प्रस्तुत गरेका थिए ।

 

समितिका अध्यक्ष विजय साम्पाङ राईको अध्यक्षतामा आयोजित कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई कदर पत्र, बधाई पत्र र सम्मान पत्रबाट सम्मानित गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा समितिका निवर्तमान अध्यक्ष क्या मानबहादुर चाम्लिङ राई, वरिष्ठ उपाध्यक्ष क्या शिवकुमार चाम्लिङ राई र सचिव सरिता चाम्लिङ राई, नमुना सामुदायिक वन उपभोक्ता समूहका नवनिर्वाचित अध्यक्ष जागिरमान राई, दाताद्वय धनशोभा राई र मनोज चाम्लिङ राई रहेका छन् ।

 

त्यसैगरी कार्यक्रम स्थलमा किरात मौलिक गरगहना र भेषभुषासँगै मौलिक खानेकुराको स्टलहरु राखिएको थियो । कार्यक्रममा अर्जुनधारा ९ का वडाध्यक्ष भीष्म मिश्र, नेपाल आदिवासी जनजाति महासंघ अर्जुनधाराका अध्यक्ष कर्णबहादुर तामाङ, किरात विद्यार्थी संघ झापाका सदस्य आयुष राई, समितिका सल्लाहकार एवम् अग्रज पत्रकार दिपीन राईलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

 

समितिकी वरिष्ठ उपाध्यक्ष भूपा थुलुङ राईले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव सिंहबहादुर चाम्लिङ राईले गरेका थिए ।