झापा । झापामा एकैदिन प्रतिबन्धित लागूऔषधसहित ८ जना पक्राउ परेका छन् । उनीहरुको साथबाट १७ ग्राम ३२० मिलिग्राम ब्राउनसुगर बरामद भएको छ । पक्राउ परेकामध्ये दुई जना महिला रहेका छन् ।

 

हिजो (शुक्रबार) दिउँसो ४ बजेको समयमा झापा भद्रपुर नगरपालिका वडा नम्बर ५ देवीबस्ती मेची किनारमा वडा प्रहरी कार्यालय भद्रपुर र सशस्त्र प्रहरी बल बिओपी भद्रपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका नुवाकोट तार्केश्वर गाउँपालिका ३ का २९ वर्षीय सानुबाबु रिमाल पक्राउ परे । उनको साथबाट ५ ग्राम ३२० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

 

त्यस्तै, हिजो साँझ ५ बजेको समयमा मेचीनगर ६ स्थित पुरानो मेची पुलमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मोरङ पथरीशनिश्चरे ६ का ३५ वर्षीया दिलमाया श्रेष्ठलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट ६ ग्राम ब्राउनसुगर फेला परेको थियो ।

 

यसैगरी, साँझ ६ बजेको समयमा दमक ३ स्थित बेलडाँगीमा ब्राउनसुगर बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी बाघखोर र सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प बेलडाँगीबाट खटिएको टोलीले सोही ठाउँ बस्ने ४१ वर्षीय निर्पा राई, ३२ वर्षीय सन्जोग गुरुङ, १९ वर्षीय मन्दिप दर्जी, १९ वर्षीय अविराज गुरुङ, २३ वर्षीय मिलन गुरुङ र २४ वर्षीया दिलु तामाङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

उनीहरुमाथि चेकजाँच गर्दा ६ ग्राम ब्राउनसुगर र २ थान मोबाइल बरामद भएको थियो । उनीहरुलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसादले जानकारी दिएका छन् ।