धरान । प्रहरीले एक थान स्वचालित पेस्तोलसहित आइतबार दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धरान १० मयुरपथ बस्ने ३५ वर्षीय राजेश लिम्बू र वडा ५ देउराली बस्ने २५ वर्षीय कुमार भण्डारी रहेका छन् ।

 

एक साताअघि पक्राउ परेकाहरुले दिएको बयानको आधारमा खोजतलास गर्दा लिम्बू र भण्डारी पेस्तोलसहित पक्राउ परेका हुन् । प्रहरीका अनुसार धरान ८ स्थित जनता ग्यारेजमा लुकाइराखेको अवस्थामा मेडइन यूएसए लेखिएको पेस्तोल बरामद भएको थियो । उक्त ग्यारेजका सञ्चालक भण्डारी हुन् । पेस्तोललाई कटर मेसिनले काटेर तीन टुक्रा पारेको अवस्थामा खाली म्यागेजिनसहित बरामद गरिएको थियो ।

 

धरानमा एक साताअघि पनि दुई थान पेस्तोलसहित तीन जना पक्राउ परेका थिए । धरानस्थित दुई छुट्टाछुट्टै स्थानबाट २ थान इटालियन पेस्तोलसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा २ जना एकैघरका दाजुभाइ पनि छन् ।

 

प्रहरीका अनुसार पक्राउ पर्नेमा धरान उपमहानगरपालिका १७ डाँडा घोपाका २९ वर्षीय हुकमेन जिमी, उनका भाइ २४ वर्षीय दिपक जिमी र धरान १५ का २४ वर्षीय रोहित राई रहेका छन् । विशेष सूचनाको आधारमा वैशाख ३१ गते राति प्रदेश प्रहरी कार्यालय विराटनगरको (आरआइटी) समुह र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।