झापा । देशका धेरै ठाउँमा गएरातिदेखि नै पानी परिरहेको छ । केही ठाउँमा अहिले रोकिए पनि फेरि पानी पर्ने मौसमविद् शान्ति कँडेलले जानकारी दिए । उनका अनुसार मनसुन सक्रिय भएसँगै भारतको उत्तर मध्यप्रदेश र आसपासमा बनेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा परेको छ ।

 

मनसुनको न्यून चापीय प्रणाली पनि सरदर स्थानभन्दा माथितिर सरिरहेकाले आज र भोलि लगातारजसो पानी पर्ने सम्भावना छ । कँडेलका अनुसार देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको अनुमान छ । दिउँसो कोशी, बाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक, दुई ठाउँमा ठूलो पानी पर्ने बताइएको छ ।

 

राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक, दुई ठाउँमा अति ठूलो पानी पर्ने मौसमविद्को अनुमान छ। अन्य क्षेत्रको तुलनामा पश्चिमी क्षेत्रमा धेरै पानी पर्ने मौसमविद्ले बताएका छन् ।

 

कोशी, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बाढी, पहिरोको जोखिमसमेत रहेकाले सतर्कता अपनाउन मौसमविद्को सुझाव छ । यी प्रदेशका नदी तथा खोलामा बाढीको चेतावनी पनि दिइएको छ ।