काठमाण्डौ । केही दिनदेखि परेको लगातारको झरी आजदेखि बिस्तारै कम हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले कोशी, मधेस, गण्डकी र बाग्मती प्रदेशका केही ठाउँ तथा बाँकी प्रदेशका एक, दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

 

काठमाण्डौ उपत्यकामा पानी पर्ने क्रम बिस्तारै कम हुँदै गएको छ । आज दिउँसोपछि काठमाण्डौ उपत्यकासहित देशका पश्चिमी क्षेत्रमा मौसममा सुधार आउने सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले बताए । उनका अनुसार गण्डकी र लुम्बिनीसहित पूर्वका केही क्षेत्रमा मौसम बदली नै छ ।

 

पूर्वी क्षेत्रमा मौसम सुधार हुन केही दिन लाग्नेछ । कोशी, मधेस र बाग्मतीमा बदली र हल्का वर्षाको सम्भावना छ । तर, निरन्तर पानी पर्ने क्रम अब बिस्तारै कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरमा छ । साथै, नेपालमा अहिले भारतको उत्तर प्रदेशको उत्तरपूर्वी क्षेत्रमा रहेको न्यून चापीय क्षेत्र र बङ्लादेशको उत्तरी भू-भागमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव छ ।