शनिश्चरे । निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) अर्जुनधाराले ५९औं राष्ट्रिय बाल दिवसको अवसरमा आयोजनामा गरेको नगरस्तरीय सांस्कृतिक नृत्य प्रतियोगितामा रुपरत्न मेमोरियल बोर्डिङ स्कुल प्रथम भएको छ ।

 

अर्जुनधारा नगरपालिकाको प्रांगणमा आयोजित कक्षा १ देखि ५ सम्मका विद्यार्थी सहभागी प्रतियोगितामा अर्जुनधारा ७ को रुपरत्न सुनुवार जातिको सांस्कृतिक झाँकी प्रस्तुत गर्दै ्रथम भएको हो ।

 

नगरमा रहेका १७ वटा संस्थागत विद्यालयको सहभागिता रहेको उक्त प्रतियोगितामा अर्जुनधारा ६ को हिमाली एजुकेशन फाउण्डेशनका विद्यार्थीले कौरा नृत्यु प्रस्तुत गर्दै दोस्रो भयो भने अर्जुनधारा ११ को होलीका इङलिस स्कूलका विद्यार्थीले संगिनी नृत्य प्रस्तुत गर्दै तेस्रो स्थान हासिल गरेको छ ।

 

यससैगरी अर्जुनधारा ८ को इलाइट किन्डर हाउस र अर्जुनधारा ६ को देवी पाथीभरा इङलिस स्कूलका विद्यार्थीले सान्त्वना स्थान जिते । प्रतियोगिताको निर्णायकहरु नृत्य कलाकार संघ मोरङका अध्यक्ष इन्द्रजीत मगर र संघ सुन्दरहरैंचा नगरपालिकाका अध्यक्ष सन्तोष मगर रहेका थिए ।

 

विजेता विद्यार्थी तथा प्रिन्सिपलहरुलाई अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल, वडा नं १ का अध्यक्ष उपेन्द्र बस्नेत, वडा नम्बर ६ का अध्यक्ष हरिष्चन्द्र बाँस्तोला, महिला तथा बालबालिका इकाईकी प्रमुख शान्ति गड्तौला, प्याब्सनका पूर्वकेन्द्रीय सदस्य मोहन सुब्बा, प्याब्सन झापाका सदस्यद्वय प्रभुकुमार श्रेष्ठ र सुमन शर्मा जम्मरकट्टेललगायतले पुरस्कार वितरण गरेका थिए ।

 

प्याब्सन अर्जुनधाराका अध्यक्ष रुद्रप्रसाद सिटौलाले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा सल्लाहकार टिआर गौतमले स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव राजेशकुमार आचार्यले गरेका थिए ।

 

यसैबीच, प्याब्सनले बाल दिवसको अवसरमा अतिरिक्त क्रियाक्लाप अन्तर्गत आइतबार निबन्ध लेखन (कक्षा ६-८) र वक्तृत्वकला (कक्षा ९-१०) प्रतियोगिता आयोजना गर्ने कोषाध्यक्ष राजन वाग्लेले जानकारी दिए ।