शनिश्चरे । गुणस्तर तथा नापतौल कार्यालय झापाले अर्जुनधारा क्षेत्रमा व्यवसाय सञ्चालन गरिरहेका व्यापारी तथा व्यवसायीहरुका लागि सोमबारदेखि नापतौल डोर सञ्चालन गरेको छ । अर्जुनधारा बाणिज्य उद्योग संघ शनिश्चरेको आयोजनामा अर्जुनधाराका तीन स्थानमा कार्यालयले तीनदिने नापतौल डोर सञ्चालन गरेको हो ।

 

नापतौल डोर सञ्चालनका क्रममा स्थानीय व्यवसायीले प्रयोग गर्दै गरेका नाप र तौल तथा नाप्ने तौलने यन्त्रहरुको जाँच, नविकरण र अनुमतिपत्र वितरण गरिएको वाणिज्य संघका अध्यक्ष इन्दिवर खड्काले बताए ।

 

उनका अनुसार नापतौल डोर खुदुनाबारी, बिर्तामाेड बसपार्क र लक्ष्मीपुरमा पनि सञ्चालन हुनेछ । व्यवसायीको हितमा घरदैलो सेवाअन्तर्गत नापतौल कार्यालयको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो ।

 

व्यवसायीले नापतौल दर्ता तथा नविकरण नगरेको खण्डमा अधिकतम् ३० हजारसम्म जरिवाना हुने भए पनि विशेष छुट दिइ सहुलितय जरिवानामा दर्ता तथा नविकरण गरिएको नापतौल कार्यालयका प्रमुख तथा निरीक्षक सुनिलकुमार यादवले जानकारी दिए ।

 

बुधबारसम्म हुने नापतौल डोर सञ्चालन कार्यक्रमको आज पहिलो दिन शनिश्चरे बजार रअर्जुनधारा क्षेत्रका ४५ जना व्यवसायीले नविकरण तथा दर्ता गरेको संघका उद्योग उपाध्यक्ष कृष्ण लोहारले जानकारी दिए ।