झापा । वरिष्ठ गायिका दिलमाया खातीको निधन भएको छ । सन् १९३९ को अक्टोबर ६ तारिखमा दार्जिलिङमा उनको जन्म भएको हो । उनी लामो समयदेखि दमको रोगबाट पीडित थिइन्। उनको गएराति निधन भएको हो ।

 

दिलमाया खाती पहिलो पटक सन् १९६२ मा काठमाण्डौ आएकी थिइन् । काठमाण्डौ आएका बेला आफन्तकोमा उनले गाएको गीत सुनेर संगीतकार शिवशंकर, नातिकाजी श्रेष्ठ र गायिका तारादेवीले नेपाली गीत गाउन आग्रह गरेका थिए । त्यसपछि उनले नेपाली गीत गाउन थालेकी हुन् ।

 

अविवाहित दिलमायाले वरिष्ठ गायक गायिका एवम् संगीतकारसँग काम गरेका थिए । संगीतकार एवम् गायक गोपाल योञ्जन, कर्म योञ्जन, नारायण गोपाल, तारादेवी, मिरा राणासँग उनले गीत गाएकी छन् ।

 

यस्तै, युवा पुस्तामा गायक शैलेश सिंहसँग पनि उनले सहकार्य गरेकी छन् । नारायण गोपालसँग दिलमायाको भेट सन् १९७२ तिर दार्जिलिङमै भएको थियो ।

 

नारायण गोपालको आग्रहमा उनले बिछोडको पीडा नसकी खप्न दशैँको बेलामा… बोलको गीत गाएकी थिइन् । जुन अहिले पनि निकै लोकप्रिय छ । उनले एक सय ५० वटाभन्दा धेरै नेपाली गीतमा स्वर दिएको साहित्यकार प्रकाश सायमीले जानकारी दिए ।