अर्जुनधारा । झापाको पुरानो बजार शनिश्चरेमा रहेको सब्जी बजार व्यवस्थित गरिँदै छ । अर्जुनधारा नगरपालिकाको बजार सौन्दर्यकरण गर्ने योजनाअनुसार सब्जी बजारलाई व्यवस्थित गर्न थालिएको हो ।

 

वर्षौंदेखि पुरानो सुर्ती हट्टीमा लाग्दै आएको अव्यवस्थित बजारलाई सौन्दर्यकरणसँगै एकरुपता दिन थालिएको अर्जुनधारा ८ का वडाध्यक्ष कुमारप्रसाद उप्रेतीले बताए । उनका अनुसार जथाभावी पसल राखेका व्यापारीलाई दुई पटक सूचना गरेर बिहीबारदेखि व्यवस्थित गर्न थालिएको हो ।

 

उनका अनुसार सब्जी बजार व्यवस्थित गर्ने क्रममा दुई चक्के सवारीका लागि पार्किङ स्थलसहितको बजार व्यवस्थापन कार्य भइरहेको छ । सबै सब्जी व्यापारीलाई दुवैपट्टि बाटो भएको १२-१२ फिटको स्थान दिइएको छ ।

 

यसअघि त्यस क्षेत्रमा कुनै दुर्घटना भएको खण्डमा गाडी पस्न नसक्नेगरी सब्जी पसल लगाइन्थ्यो । अहिले पूर्वपट्टि १२ फिट र पश्चिमतर्फ १० फिटको बाटो खुलाइएको छ ।

 

यसैगरी, बजार व्यवस्थापन गर्न व्यापारीका लागि ६० वटा प्लट छुट्याइएको वडाध्यक्ष उप्रेतीले जानकारी दिए । उक्त स्थानमा खानेपानी, शौचालय निर्माण गरिने भएको छ भने बिजुली र सिसी क्यामेरा पनि जडान गरिने उनले बताए । बजार क्षेत्रमा व्यापारीसँगकाे सहकार्यमा ट्रस्ट निर्माण गरिने बताइएकाे छ।

 

यस्तै, शनिश्चरे मावितर्फ जाने सडकमा राखिएका सब्जी पसल पनि बिहीबार नै हटाइएको छ । उक्त क्षेत्रमा २० फिटको सडक क्लियर गरिएको छ । उक्त क्षेत्रमा साप्ताहिक हाटमा समेत पसल राख्न नदिइने बताइएको छ ।