अर्जुनधारा । विजय दशमीको अवसरमा झापाको अर्जुनधारा ११स्थित सालबारी मिलडाँडा युवा परिवारको आयोजनामा हुने कार्यक्रमले प्रशंसा बटुल्दै गएको छ । आयोजकसामु सहयाेगी हात पनि अघि बढेका छन् ।
बर्सेनि गर्दै आएको कार्यक्रमले यसवर्ष पनि निरन्तरता पायो । नियमित गरिने दुर्गा पूजा तथा सांस्कृतिक कार्यक्रम २०८० भव्यरुपले सम्पन्न भएको छ । यसै मेसोमा पितृलाई सम्झने रचनात्मक कार्यको सर्वत्र प्रशंसा गरिएको छ ।
आयोजक समितिले यसवर्ष वडामा रहेका दिवंगत आफन्तको स्मृतिमा छोटो समयको प्रस्तुतिले सबैको ध्यान खिचेको थियो । कार्यक्रममा उपस्थित सबैको आँखा पनि रसायो । दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै काँचको पर्दामा निधन भएका आफन्तको तस्वीर राखिएको थियो ।
परिवारका अध्यक्ष देवेन्द्र विश्वकर्माको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङले उद्घाटन गरेका थिए ।
कार्यक्रम संयोजक विजय राईले संस्थाको परिचय र गतिविधिबारे जानकारी गराएको कार्यक्रममा राष्ट्रिय कलाकार एलिना चौहन, योगेश मगरको पन्छी एण्ड ब्याण्ड, भद्रकाली किरात याक्थुम केलाङ समाज, थोक्ला डान्स सेन्टर, रुकसाना लिम्बूलगायतको प्रस्तुति रहेको थियो ।
त्यसैगरी कार्यक्रममा सामाजिक व्यक्तित्वद्वय प्रेमप्रसाद लामिछाने र मनोज राईलाई कदर पत्रबाट सम्मान गरिएको थियो । आयोजकका सचिव महेन्द्र सुवेदीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा वडाध्यक्ष खगेन्द्रप्रसाद इङनामलगायतले शुभकामना र आयोजकका उपाध्यक्ष पदम गिरीले स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन अनुमा राई र विवेक सुन्दासले गरेका थिए ।








