शनिश्चरे । झापाको अर्जुनधारामा सोनाम ल्होसार २८६० को अवसरमा धार्मिक पूजाआजा र खेलकुदसहित सांगीतिक कार्यक्रमको थालनी गरिएको छ ।

 

नेपाल तामाङ घेदुङ अर्जुनधारा नगर कमिटीको आयोजनामा यही माघ १९ र २० गते अर्जुनधारा १ मदनपुरस्थित ज्याङछुप छ्योइलिङ गुम्बा परिसरमा कार्यक्रम गरिँदैछ ।

 

आयोजकले आज पत्रकार सम्मेलन गरी गुम्बा निर्माणमा सहयोग जुटाउन सांगीतिक कार्यक्रम पनि आयोजना गरिएको घेदुङका नगर अध्यक्ष बृखबहादुर गोलेले बताए । उनका अनुसार निर्माणधीन गुम्बाका सांगीतिक कार्यक्रममार्फत सहयोग संकलन गरिने छ ।

 

अर्जुनधारामा ४ वटा गुम्बा रहेको र मदनपुरको अधुरो गुम्बालाई सहयोग जुटाउनु पर्ने भएकाले सबैको साथ सहयोगबाट कार्यक्रम सफल पार्न उनले आग्रह गरे । सांगीतिक कार्यक्रममा अहिलेकी चर्चित गायिका रचना रिमाल, गायक आशमान लोप्चनलगायत स्थानीय कलाकारको प्रस्तुति रहने बताइएको छ । कलाकारको प्रस्तुति स्थानीयले निःशूल्करुपमा हेर्न पाउने छन् ।

 

बौद्धमार्गीहरुलाई जन्मदेखि मृत्यु संस्कारसम्म आवश्यक लामा गुरु सहजरुपमा उपलब्ध गराउने उद्देश्यले २०७५ सालदेखि गुम्बाको निर्माण कार्य शुरु गरिएको गुम्बा व्यवस्थापन समितिका अध्यक्ष सन्तबहादुर गोलेले जानकारी दिए । उक्त गुम्बा अहिले पनि निर्माणाधीन अवस्थामा रहेको हो ।

 

गुम्बा निर्माण गर्न स्थानीय जग्गादाताहरु सलबहादुर गोले तामाङ, सन्तबहादुर गोले तामाङ, सरस्वती सिटौला गोले तामाङ र खड्गबहादुर गोले तामाङको परिवारबाट चार कठ्ठा जमिन समितिलाई निःशुल्क प्राप्त भएको थियो ।

 

अहिलेसम्म नगरपालिका, प्रदेश र स्थानीय दाताको सहयोगबाट १३ लाख ५० हजार रुपैयाँ निर्माणाधीन गुम्बामा खर्च भएको गुम्बा व्यवस्थापन समितिका अध्यक्ष गोलेको भनाइ छ । अझै पनि डुम (गजुर), घेराबारा, तीन वटा बुद्ध मूर्ति र प्रवेशद्वार बनाउन बाँकी रहेकाले ५० लाखभन्दा बढी खर्च लाग्ने बताइएको छ ।

 

हाल दुई तलाको भवन मात्र निर्माण भएको उक्त गुम्बा सञ्चालनमा आएपछि अर्जुनधारा १ सँगै छिमेकी वडामा बसोबास गर्ने दुई सय घरधुरीभन्दा बढी परिवार प्रत्यक्ष लाभान्वित हुने बताइएको छ ।

 

कार्यक्रम संयोजक चक्र तामाङका अनुसार सांगीतिक कार्यक्रमबाट १२ लाख रूपैयाँ संकलन गर्ने लक्ष्य लिइएको छ । उक्त कार्यक्रम सम्पन्न गर्न ३ लाख ५० हजार खर्च लाग्ने अनुमान गरिएको छ ।

 

माघ १९ गते शुक्रबार स्थानीय मदनपुर खेलमैदानमा भेट्रान्स फुटबल प्रतियोगिता र गुम्बा क्षेत्रमा लामा गुरुहरुबाट विशेष पूजाअर्चनासहित साँझ धार्मिक प्रवचन हुने बताइएको छ ।

 

घेदुङ १ नम्बर वडाका अध्यक्ष वीरबहादुर योञ्जन, मदनपुर युवा समूहका अध्यक्ष देवेन्द्र सेन्दाङलगायतको उपस्थिति रहेको पत्रकार भेटघाट कार्यक्रमको सञ्चालन घेदुङ नगर सहसचिव धनबहादुर तामाङले गरेका थिए ।