बिर्तामोड । अर्ना छैटौँ झापा गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको आयोजक झापा गोल्डकप समितिले जनाएको छ । गोल्डकपको पूर्वसन्ध्यामा बिर्तामोड नगरमा सरसफाई गरिएको छ ।

 

झापा गोल्डकप आयोजक समितिसहित विभिन्न संघसंस्था र सुरक्षाकर्मीको सहभागितामा आज बिहान बिर्तामोडमा सरसफाई गरिएको हो । बिर्तामोडलाई सफा र सुन्दर बनाउने काम भइरहेको छ ।

 

यसैबीच, गोल्डकपको उद्घाटन अवसरमा कलाकार महेश काफ्ले र अस्मिता अधिकारीले आफ्नो प्रस्तुति दिने भएका छन् । दर्शकलाई फुटबलसँगै सांगीतिक मनोरञ्जन दिने उद्देश्यले आयोजकले कलाकारद्वयलाई रंगशालामा उतार्ने भएको हो ।

 

यस्तै, धुलाबारीको इष्ट होराइजन स्कुलले पनि उद्घाटनकै अवसरमा आफ्नो प्रस्तुति दिने छ भने बाल्मिकी एजुकेशन फाउण्डेशनका विद्यार्थीले समापनको अवसरमा सांस्कृति कार्यक्रम प्रस्तुत गर्ने आयोजकको तालिका रहेको छ ।

 

झापा गोल्डकपको छैटौँ संस्करण पर्सि फागुन १९ गतेदेखि सुरु हुँदैछ । उद्घाटन खेलमा सशस्त्र प्रहरीको एपीएफ एफसी र संकटा एफसीले प्रतिस्पर्धा गर्नेछन् ।

 

आयोजकको तर्फबाट झापा ११ एफसीसहित १० टोलीको सहभागिता रहेको छ । फागुन २८ गते हुने फाइनल खेलको विजेताले नगद १३ लाख र आकर्षक ट्रफी पाउने छ ।