झापा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको बैठकले गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्यमा प्रतिलिटर एक रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्यमा प्रतिलिटर दुई रुपैयाँ घटाएको हो।

 

अब चारआली, विराटगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६८ रुपैयाँ ५० पैसा कायम गरिएको छ। त्यस्तै, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५५ रुपैयाँ ५० पैसा तोकिएको छ।

 

सुर्खेत र दाङ क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ तोकिएको छ। त्यस्तै, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५७ रुपैयाँ कामय गरिएको छ।

 

निगमले काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १७१ रुपैयाँ तोकेको छ। त्यस्तै, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५८ रुपैयाँ कायम भएको निगमका प्रवक्ता मनोज ठाकुरले बताए।

 

इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट शुक्रबार प्राप्त नयाँ खरीद मूल्यअनुसार पेट्रोल मूल्यमा प्रतिलिटर एक रुपैयाँ २२ पैसा र र डिजेलको मूल्यमा प्रतिलिटर दुई रुपैयाँ ६ पैसाले घटेर आएको निगमले जनाएको छ। त्यहीअनुसार, नेपालमा पनि मूल्य समायोजन गरिएको हो।