शनिश्चरे । झापाको अर्जुनधारा क्षेत्रमा सुपारी चोरी गर्दै हिँड्ने दुई जनालाई प्रहरीले सुपारी बगानबाटै पक्राउ गरेको छ । उनीहरुलाई अर्जुनधारा ५ स्थित फूलबारी टोलबाट प्रहरीले पक्राउ गरेको हो ।

 

बिहीबार साँझ ५ बजेको समयमा अर्जुनधारा ५ फूलबारी टोलमा टिकादेवी गिरीको सुपारी बगानबाट काँचो सुपारी झारी बोरामा हालेर लैजान लागेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

 

अर्जुनधारा ७ बस्ने राइडो भनिने सुनिल राई र वडा नम्बर ८ बस्ने आलो भनिने सुरज मण्डललाई सुपारी बगानबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ५ वटा प्लाष्टिकको बोरामा भरेर उनीहरुले काँचो सुपारी लैजान लागेका थिए ।

 

अन्दाजी १० हजार ९८० रुपैयाँबराबरको १८३ किलोग्राम सुपारीसहित उनीहरुलाई प्रहरी चौकी शनिश्चरेको टोलीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा ल्याई थप अनुसन्धान भइरहेको जनाइएको छ ।