अर्जुनधारा । झापाको अर्जुनधारामा ढाकाको कपडा बुनिरहेका महिलाहरुलाई दुई महिने एडभान्स (बृहत) तालिम प्रदान गरिएको छ । महिलाहरुलाई सीप प्रदान गर्नुका साथै आर्थिकरुपमा आत्मनिर्भर बन्न प्रेरित होस् भन्ने हेतुले तालिम प्रदान गरिएको हो ।

 

अर्जुनधारा ८ मा कार्यालय रहेको नारी चेतना समूहको आयोजना तथा टेवा नेपाल ललितपुरको आर्थिक सहयोगमा ३ महिने आधारभूत तालिम सकेका ७ जना महिलाका लागि एडभान्स तालिम दिइएको हो ।

 

अर्जुनधारा ७ मा शुक्रबार आयोजित समापन कार्यक्रममा बोल्दै अर्जुनधारा नगरपालिकाका सामाजिक विकास समितिका संयोजक कौशीलाल परियारले तालिमबाट स्थानीय महिला आत्मनिर्भर बन्न सकेको भन्दै प्रशंसा गरेका थिए ।

 

उनले तालिमबाट लिएको सीपलाई व्यावसायिकरुपमा अघि बढाउन आग्रह गर्दै यसको दीर्घकालिन व्यवस्थापनमा स्थानीय सरकार अग्रसर हुनुपर्नेमा जोड दिए । उनले वडा कार्यालयले प्रवद्र्धन गरे नगरले संरक्षण गर्ने पनि आश्वासन दिए ।

 

चुलाचौका छाडेर महिलाहरु उद्यमशील बन्नुपर्ने बताउँदै उनले सीप सिक्नेमात्र नभइ यसलाई आर्थिक पाटोसँग जोड्न सकेको खण्डमा महिलाहरु आर्थिकरुपमा पनि सवल बन्ने बताए ।

 

समूहकी अध्यक्ष पम्फा विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा ७ नम्बर वडाका जनप्रतिनिधिहरु हरिबहादुर कटुवाल, देउकुमार राई, पार्वता भट्टराई, समूहकी पूर्वअध्यक्ष मिश्रकुमारी राई, जलेश्वर सामुदायिक सिकाइ केन्द्रकी अध्यक्ष पुनम सुवेदी, पूर्व जनप्रतिनिधि रमेश त्रिखत्रीलगायतले आफ्ना भनाइ राखेका थिए ।

 

समूहले ढाका बुन्ने तालिम प्रदान गरेर महिलाहरुलाई आत्मनिर्भर बनाउन गरेको प्रयत्नको प्रशंसा गर्दै उनीहरुले अर्जुनधाराको कोसेलीको रुपमा यसलाई लिएर बजार प्रवद्र्धनमा जोड दिन आग्रह गरे ।

 

समूहकी उपाध्यक्ष डम्बरकुमारी सत्यालले स्वागत गरेको कार्यक्रममा सहभागीको तर्फबाट अमिता लिम्बूले आफ्नो अनुभव सुनाएकी थिइन् । तालिमकी प्रशिक्षक कल्पना राईलाई प्रशंसापत्र र सहभागीलाई प्रमाणपत्र वितरण गरिएको कार्यक्रमको सञ्चालन समूहकी सचिव पूर्णिमा सिटौलाले गरेकी थिइन् ।