पाँचथर । कुम्मायक कुस्सायकमा त्रिशाली आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता वैशाख १६ देखि २३ सम्म हुने भएको छ ।

 

पाँचथरको कुम्मायक गाउँपालिका केन्द्र यासोकमा प्रत्येक तीन वर्षमा लाग्ने त्रिशाली मेलाका अवसरमा खेलाइने फुटबल प्रतियोगितालाई यो वर्ष कुम्मायक कुस्सायक त्रिशाली आमन्त्रण प्रतियोगिता नामाकरण गरिएको हो ।

 

यो वर्षको प्रतियोगिता यलम्बर युवा संस्थाले आयोजना गर्ने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगितामा आयोजक यलम्बर युवा संस्थासँगै ८ वटा टिमले सहभागिता जनाउने छन् ।

 

जसमा पाँचथर एफसी, रेडहर्स एफसी इलाम, कर्णसिंह सोनाम स्मृति क्लब ताप्लेजुङ, डाँगीहाट एफसी मोरङ, धरान सिटी एफसी सुनसरी, दमक एकेडेमी झापा र पूर्वाञ्चल एफसी पकली गरी ८ टिमले भाग लिनेछन् ।

 

विजेताले ३ लाख ५५ हजार ५५५ र उपविजेताले १ लाख ७७ हजार ७७७ रुपैयाँसँगै ट्रफी जित्ने आयोजक यलम्बर विकास संस्थाका अध्यक्ष भीमनारायण लिम्बूले जानकारी गराए । प्रत्येक खेलमा प्लेयर अफ द म्याचलाई ५ हजार तथा विधागत उत्कृष्टलाई जनही ८ हजार प्रदान गरिने जनाइएको छ ।

 

प्रत्येक दिन फ्यान अफ द म्याचका रूपमा एक दर्शकलाई पुरस्कृत गरिने पनि लिम्बूले बताए । प्रतियोगिता करिब ३५ लाखको लागतमा सम्पन्न गर्ने लक्ष्य आयोजकको छ । कुम्मायक कुस्सायक प्रसिद्व धार्मिकस्थल हो । यहाँ प्रत्येक तीन वर्षमा पूजाआराधनासहित सांस्कृतिक मेला लाग्दै आएको छ ।