झापा । आज दिउँसोदेखि काठमाण्डौ उपत्यकासहित कोशी, मधेश, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा बादली भएर पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

 

अहिले केही ठाउँमा सामान्य बदली भए पनि धेरै ठाउँको मौसम सफा रहेकोमा दिउँसोदेखि बदली भएर केही ठाउँमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाका मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए ।

 

हिजो अस्तिको तुलनामा आज मौसम केही सफा हुने तर भरे रातिदेखि पुनः बदली भएर वर्षाको सम्भावना रहेको उनले बताए । अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव छ ।

 

स्थानीय प्रणाली समेत सक्रिय हुँदा भरे रातिपछि मध्य र पूर्वका धेरै ठाउँमा वर्षाको सम्भावना रहेको मौसमविद् अर्यालले बताए । यस्तै भरे रातिदेखि सक्रिय हुने प्रणालीले यो हप्ता नै प्रभाव पार्ने त्रिभुवन विश्व विद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्रध्यापक डा विनोद पोख्रेलले बताएका छन् ।

 

रातिदेखि आउने प्रणालीले पश्चिम तराईका वर्षा हुने सम्भावना कम रहे पनि बाँकी भूभागमा वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको पोख्रेलले बताए । मौसम पूर्वानुमान् महाशाखाले पनि आउँदो मङ्गलबारसम्मको पूर्वानुमानमा बदली र वर्षाको सम्भावना रहेको उल्लेख गरेको छ ।