बिर्तामोड । पुरानो रिसिबीका कारण बिर्तामोड १ का २३ वर्षीय सुनिराम मुर्मूमाथि छुरा प्रहार भएको खुलेको छ । रिसिबीका कारण दुई पक्षबीच झडप भएको र मुर्मूमाथि छुरा प्रहार भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्कीले बताएका छन् ।

 

बिर्तामोडस्थित पश्चिम बस स्टेन्डमा गएराति ८ः२० बजे दुई समूहबीच झडप हुँदा छुरा प्रहार भएको थियो । छुरा प्रहारबाट घाइते भएका मुर्मूलाई उपचारका लागि स्पाइन एक्स अस्पतालमा भर्ना गरिएको छ । राति उनको शल्यक्रिया गरिएको प्रहरीले जनाएको छ ।

 

अहिले पनि उनको अवस्था गम्भीर रहेको छ । उनको बायाँ हातको कुम र ढाडको माथिपट्टी गर्दनमा चोट लागेको छ । घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ ।

 

पक्राउ पर्नेहरुमा बिर्तामोड १ का २३ वर्षीय राम टुडू, वडा नं ६ की १९ वर्षीया एलिना श्रेष्ठ, वडा नं १ का २९ वर्षीय सुसान मुर्मू, अर्जुनधारा ११ का ३० वर्षीय सरोज सहनी र कनकाई १ का २३ वर्षीय मनोज विक रहेका छन् ।