खुदुनाबारी । जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहका नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई पद हस्तान्तरण गरिएको छ । गत चैत ५ गते निर्वाचन सम्पन्न भएको थियो ।

 

झापाको अर्जुनधारा ३ स्थित जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले बिहीबार पदभार सम्हालेका हुन् । निर्वाचन समितिका संयोजक दिपिन राईको अध्यक्षतामा आयोजित पद हस्तान्तरण कार्यक्रमपछि उनीहरुले पदभार सम्हालेका हुन् ।

 

समितिका संयोजक राईले पद तथा गोपनीयताको सपथ ग्रहण गराएको कार्यक्रममा उनीहरुलाई निर्वाचित भएको प्रमाण पत्र वितरण गरिएको थियो । त्यसैगरी समूहका निवर्तमान अध्यक्ष झरिन्द्रकुमार खड्काले नवनिर्वाचित अध्यक्ष मोहन श्रेष्ठलाई समूहको बैठक पुस्तिका, विधान, कार्ययोजना आदि हस्तान्तरण गरेका थिए ।

 

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले वन संरक्षणसँगै उपभोक्ताको हितमा सिंगो समितिले काम गर्ने कार्यसमितिको तर्फबाट प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा वडाध्यक्ष सीताराम भट्टराई, निर्वाचन मध्यस्थता समितिका सदस्यहरु लोकमान श्रेष्ठ, हेमप्रसाद खरेल, नारद दुःखी, लोकनाथ खतिवडा र निवर्तमान अध्यक्ष खड्काले आफ्ना भनाइ राखेका थिए ।

 

समितिका सदस्य हरि वाग्लेले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन अर्का सदस्य जीवकुमार भण्डारी “जीवन”ले गरेका थिए । उक्त निर्वाचनबाट १५ जना पदाधिकारी तथा सदस्य निर्वाचित भएका थिए ।

 

 

जसको अध्यक्षमा मोहन श्रेष्ठ, उपाध्यक्षमा लक्ष्मीराम तिम्सिना, सचिवमा उर्मिला कटुवाल अधिकारी, सहसचिवमा सोमनाथ चापागाईं र कोषाध्यक्ष पदमा मनिला जवेगु इङ्नाम लिम्बू निर्वाचित भएकी थिइन् ।

 

त्यस्तै खुला सदस्यमा नरेन्द्रप्रसाद ओझा, कृष्णप्रसाद बाँस्कोटा, यमनाथ पराजुली, यामबहादुर थापा र ज्ञानबहादुर कार्की विजयी भए । यसैगरी, महिला सदस्यमा अनिता खाती, निरुता लिम्बू, सरस्वता थापा, नारायणीकुमारी सुवेदी र सविताकुमारी धौलाकोटी विजयी भएका थिए ।