फिदिम । पाँचथरको फाल्गुनन्द गाउँपालिकाका महिलालाई सुकेको मकैका खोस्टाबाट फूल बनाउने तालिम दिइएको छ ।

 

महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन भन्दै गाउँपालिकाले यस्तो तालिम दिएको हो । तालिममा सुकेको मकैका खोस्टाबाट उपहार दिन, घर तथा कार्यालयका टेबुलमा सजाउन र ब्याचका रूपमा प्रयोग गर्न मिल्ने सामग्री बनाउने तालिम दिइएको हो ।

 

पहिलो पटक १७ जना स्थानीय महिलालाई खोस्टाका फूल बनाउने तालिम दिएर उत्पादन सुरुवात गरेको अध्यक्ष वृजहाङ आङ्देम्बेले बताए । नौ दिनसम्म तालिम लिएका सहभागीले कलात्मक फूल तयार गर्न थालेका छन् ।

 

एक लाख ५० हजार रुपैयाँ खर्च गरेर तालिममा सहभागीलाई खोस्टाका फूलसँगै फूल राख्ने बाँसका चोया काढेर गमला बनाउन सिकाइएको प्रशिक्षक सुमित्रा खतिवडाले बताइन् ।

 

उत्पादित फूल गाउँपालिकाले आफ्ना सबैखाले कार्यक्रममा प्रयोग गर्नका साथै पालिकाभित्र आयोजना हुने उत्सव, महोत्सव र सार्वजनिक कार्यक्रममा स्टल राखेर प्रवर्धन गर्ने तयारी गाउँपालिकाको छ । गाउँपालिकाले चैत ५ देखि सुरु गरेको खोस्टाको फूल बनाउने तालिम १४ गते समापन गरेको हो ।