झापा । झापाको अर्जुनधारा ५ पानीकलस्थित बिरिङ खोला जाने कच्ची भित्री सडक खण्डमा लागूऔषधको कारोबार गर्दैगर्दा ठूलो मात्रामा ब्राउन सुगरसहित एकजना पक्राउ परेका छन् ।

 

पक्राउ पर्नेमा कनकाई नगरपालिका वडा नम्बर ८ बागेडाँगी बस्ने ३१ वर्षीय रविन चौधरी रहेका छन् । आइतबार दिउँसो अन्दाजी ३ बजेको समयमा बिरिङ खोला जाने कच्ची भित्री सडक खण्डमा लागूऔषधको कारोबार हुँदैछ भन्ने गोप्य सूचनाको आधारमा प्रहरी खटिएको थियो ।

 

इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी नायव उपरीक्षक प्रकाश बिष्ट र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय काँकरभिट्टाबाट संयुक्त प्रहरी टोली खटिँदा अर्जुनधारा नगरपालिका वडा नम्बर ४ बस्ने अन्दाजी २७ वर्षीय बिमल राई प्रहरीलाई देख्नासाथ फरार भएका थिए ।

 

सँगै रहेका कनकाई ८ बागेडाँगी बस्ने चौधरीको शरीर तलासी लिँदा उनले कालो प्लाष्टिकले पोकाभित्र सेतो प्लाष्टिकले प्याक गरेको अवस्थामा प्लाष्टिकबाहेक ४० ग्राम ८२० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

 

लागूऔषधसहित चौधरीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा ल्याइ थप अनुसन्धान भइरहेको र फरार राईको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।