झापा । झापामा फेरि ठूलो परिमाणमा लागूऔषधसहित एक जना कारोबारी पक्राउ परेका छन् । पूर्वी नाका काँकरभिट्टास्थित मेची पुलबाट ४३ ग्राम ब्राउनसुगर बरामद भएको हो ।

 

सोमबार साँझ ६ बजेको समयमा मेचीनगर ६ स्थित मेची पुलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा सशस्त्र प्रहरीद्वारा परिचालन गरिएको तालिमप्राप्त कुकुरले भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्री धादिङ खन्याबास गाउँपालिका ५ बस्ने २० वर्षीय विनोद तामाङ पक्राउ परेका हुन् ।

 

शंका लागेर चेकजाँच गर्दा उनको साथबाट ४३.१५ ग्राम ब्राउनसुगर फेला परेको थियो । उनलाई आवश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको छ ।

 

हालसम्म तालिमप्राप्त कुकुरबाट ११ पटकमा १०५.०५ ग्राम ब्राउन सुगरसहित ११ जनालाई पक्राउ गरी कानूनी दायरामा ल्याएको जनाइएको छ ।

 

आइतबारमात्र अर्जुनधारा ५ पानीकलस्थित बिरीङ खोला जाने कच्ची भित्री सडकखण्डमा लागूऔषधको कारोबार गर्दैगर्दा कनकाई ८ बागेडाँगी बस्ने ३१ वर्षीय रविन चौधरीलाई ४० ग्राम ८२० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको थियो ।