झापा । प्रतिबन्धित लागूऔषधसहित कारोबारीहरु धमाधम पक्राउ पर्ने क्रममा दुई जना भारतीय ठूलो परिमाणमा ब्राउन सुगरसहित पक्राउ परेका छन् ।

 

सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीले ठूलो परिमाणमा बाउन सुगरसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

 

आज दिउँसो १ः५० बजेको समयमा भारत किसनगंज सिंहिमारी ग्रामपंचायत ८ बस्ने ५५ वर्षीय अजुमुदिन आलम र सोही ठाउँ बस्ने कदुभिट्टा ग्रामपंचायत २ बस्ने २६ वर्षीय मस्ताहक आलम पक्राउ परेका हुन् ।

 

झापा गाउँपालिका १ सितुमारी कार्कीचौक ईलाकामा सशस्त्र प्रहरी बल नेपाल (बिओपी) टाघनडुब्बा र ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको ४ जनाको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आइरहेका उनीहरुले डयूटी टोलीलाई देखेर बाटोनजिकै रहेको काँसघारीमा लुकाउँदै गरेको अवस्थामा प्लाष्टिकसहित १००.७० ग्राम बाउनसुगर फेला परेको थियो ।

 

ब्राउनसुगरसहित दुवैलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्यालय कुमरखोदमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ ।