झापा । गएराति झापाकोे कनकाई र भद्रपुरमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । कनकाईको सुरुङ्गा पुलमा एकजना पुरुष र भद्रपुरमा एक महिलाको मृत्यु भएको हो ।

 

प्रहरीका अनुसार राति ७ः५५ बजे सुरुङ्गा पुलमा बिर्तामोडबाट झिलझिलेतर्फ जादै गरेको रा १ प ६३०० नम्बरको १२५ सीसीको मोटरसाइकललाई तत्काल नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिँदा मोटरसाइकल चालक बिर्तामोड ७ बस्ने ३८ वर्षीय तेजमणि खरेलको मृत्यु भएको थियो ।

 

गम्भीर घाइते भई बीएण्डसी अस्पताल बिर्तामोड पठाएकोमा अस्पताल ल्याई डाक्टरले चेकजाँच गर्दा उनको मृत्यु भइसकेको थियो । मोटरसाइकल पछाडि सवार मेचीनगर १० बस्ने २९ वर्षीय प्रसन्न दनुवार गम्भीर घाइते भएका छन् ।

 

यसैगरी, राति ८ बजे भद्रपुर ८ नमुना टोलस्थित चन्द्रगढी–भद्रपुर भित्री सडकखण्डमा मे ४ प ४८९६ नम्बरको मोटरसाइकलले पैदलयात्री नाम थर वतन नखुलेको मागिखाइ हिँड्ने वर्ष अन्दाजी ८० की पहाडे मुलको जस्तो देखिने बृद्धा महिलालाई ठक्कर दिएको थियो ।

 

टाउकोमा चोट लागेर गम्भीर घाइते भइ ती बृद्धालाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । उपचारका क्रममा राति ९ बजे ती बृद्धाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

दुर्घटनापछि मोटरसाइकल र मोटरसाइकल चालक भद्रपुर नगरपालिका ८ बस्ने ४९ वर्षीय विशन मोतेलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।

 

यसअघि बुधबार बिहानै झिलझिलेमा बोलेरोको ठक्करबाट मोटरसाइकलमा सवार तीन जनाको ज्यान गएको थियो । कमल गाउँपालिकास्थित एकै गाउँका युवाहरुको ज्यान गएपछि पालिका शोकमग्न बनेको थियो । योसँगै दुर्घटनामा परी झापामा एकैदिन पाँच जनाको ज्यान गएको छ ।