झापा । लागूऔषधको मुख्य ट्रान्जिट पोइन्ट बनेको झापामा ब्राउनसुगरको कारोबार बढेसंगै प्रहरीले सक्रियता बढाएको छ । यसक्रममा झापा प्रहरीले चार दिनमा २३८.६६ ग्राम ब्राउन सुगरसहित १३ जनालाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमध्ये ४ जना भारतीय कारोबारी रहेका छन् । बिर्तामोड ९ किरात चौक घर भई दमक ७ मा डेरा गरी बस्ने २९ वर्षीय कमल श्रेष्ठ, दमक ८ बालुवाटार बस्ने २९ वर्षीय रुपेश पौडेल, भारत बिहार राज्य किशनगंज जिल्ला समीदिन कटलबारी लोहा गारा बस्ने २५ वर्षीय अंजार आलम र सोही ठाउँ बस्ने २७ वर्षीय कमरुललाई १२ ग्राम ११० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको हो ।

 

यस्तै, झापा गाउँपालिका १ सितुमारी कार्कीचौक ईलाकामा सशस्त्र प्रहरी बल, नेपाल बिओपी टाघनडुब्बा र ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको संयुक्त टोलीले भारत किसनगंज सिंहिमारी ग्रामपंचायत ८ बस्ने ५५ वर्षीय अजुमुदिन आलम र सोही ठाउँ बस्ने कदुभिट्टा ग्रामपंचायत २ बस्ने २६ वर्षीय मस्ताहक आलमबाट ९१ ग्राम ३८० मिलिग्राम बाउनसुगर फेला पारेको थियो ।

 

बैशाख ९ देखि १२ गतेसम्म लागूऔषधको ठूलो मात्रा बरामद भएको हो । बैशाख ९ गते अर्जुनधारा ५ पानीकलस्थित बिरीङ खोला जाने कच्ची भित्री सडकखण्डमा ४० ग्राम ८२० मिलिग्राम ब्राउन सुगरसहित कनकाई ८ बागेडाँगीका ३१ वर्षीय रविन चौधरी पक्राउ परेका थिए ।

 

बैशाख १० गते साँझ ६ बजे मेची पुलमा भारतबाट नेपालतर्फ आउँदै गरेका धादिङ खन्याबास ५ बस्ने २० वर्षीय विनोद तामाङको साथबाट ४३।१५ ग्राम ब्राउनसुगर फेला परेको थियो ।

 

बैशाख ११ गते बिहान १० बजे बैतडी दशरथचन्द ८ त्रिपुरा सुन्दरी बस्ने २५ वर्षीय रोशन थापालाई बिर्तामोडको बिराट आदर्श टोलबाट ३९ ग्राम १० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको थियो ।

 

बैशाख ११ गते साँझ ६ः१५ बजे मेची पुलमा भारतको पानीट्यांकीबाट आउँदै गरेका कमल ५ बस्ने २० वर्षीय मनिस मगरको साथबाट १ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । यस्तै, उर्लाबारी ९ घर भई दमक ९ मा डेरा बस्ने २४ वर्षीय सुजन दाहाल र दमक ९ कै २६ वर्षीय भिष्म कँडेललाई ८ ग्राम ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको थियो ।

 

बैशाख ११ गते इलाम चुलाचुली ५ घर भई हाल दमक ३ मा बस्दै आएका ३३ वर्षीय फुर्वा तामाङको घरमा २ ग्राम ६०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको थियो ।