अर्जुनधारा । झापा जिल्ला ए डिभिजन लिग च्याम्पियन टोली शनिश्चरे एफसी अर्जुनधाराले आसन्न लिग प्रतियोगिताको तयारी अन्तिम पुगेको जनाएको छ ।

 

झापा जिल्ला फुटबल संघले आयोजना गर्ने लिगका लागि २०७९ सालको लिग च्याम्पियन शनिश्चरे एफसीले बन्द प्रशिक्षणसँगै तयारी अन्तिम पुराएको हो ।

 

झापा जिल्ला ए डिभिजन लिग यही वैशाख २६ गतेदेखि जेठ ३ गतेसम्म अर्जुनधाराको खरबन्दी खेलमैदानमा सुरु हुँदैछ । जसमा अर्जुनधाराको शनिश्चरेसहित ८ वटा टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

 

लिगको तयारीका लागि अर्जुनधारा नगरपालिकाले १ लाख ५० हजार बजेट विनियोजन गरेको छ । अर्जुनधारामा शनिश्चरे एफसीसँगै मनास्लु एफसी पनि लिगको तयारीमा छ ।

 

ए डिभिजन लिगमा झापाको काँकरभिट्टा, सैनिक, न्यू स्टार, दमक भाङबारी, गोर्खा स्पोर्टिङ र धाइजन चारआली एफसी सहभागी छन् ।

 

शनिश्चरे एफसीको बन्द प्रशिक्षणमा अहिले २५ खेलाडी सहभागी छन् । उनीहरुका लागि क्लबले जर्सी, टिसर्ट, खेल सामग्री, तालिममा आवश्यक सामग्री खरिद गरेर हस्तान्तरण गरिसकेको छ ।

 

लिगको तयारी अन्तिम पुगेको जानकारी गराउन आयोजित एक संक्षिप्त कार्यक्रममा अर्जुनधारा ७ का वडाध्यक्ष गोविन्द खतिवडा, नगर खेलकुद संयोजक सुरेन धिमाल, समाज कल्याण उद्दार संघका सचिव मेदनी ढुंगेललगायतले आफ्ना भनाइ राखेका थिए ।

 

क्लबका कोषाध्यक्ष पेमा तामाङको अध्यक्षतामा भएको कार्यक्रम सचिव हरि गुरुङले सञ्चालन गरेका थिए । यसैबीच, शनिश्चरे एफसीको तालिममा ६ वर्षदेखि १८ वर्षसम्मका अन्य ३५ जना बालबालिका सहभागी रहेको जानकारी दिइयो ।