धनकुटा । झापाको बिर्तामोड युनाइटेड एफसी यहाँ जारी १६औँ शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

 

सोमबार भएको दोस्रो क्वाटरफाइनल खेलमा त्रिभुवन आर्मी एफसीलाई पराजित गर्दै बिर्तामोडले अन्तिम चारमा स्थान बनाएको हो । बिर्तामोडका लागि निर्णायक गोल निरज कार्कीले गरेका हुन् ।

 

पहिलो हाफ दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । तर, खेलको ७६औँ मिनेटमा निरज कार्कीले गोल गर्दै अग्रता दिलाएका थिए । खेलको प्लेयर अफ दी म्याच बिर्तामोडका एञ्जल गुरुङ भए । उनले नगद ५ हजार पाए ।

 

प्रतियोगिताको तेस्रो क्वाटरफाइनल खेल मंगलबार बुटवल लुम्बिनी फुटबल क्लबले सुनसरीको राष्ट्रिय जागृति क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

 

वैशाख २९ गते फाइनल हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले २ लाख ५० हजारमा चित्त बुझाउनु पर्नेछ ।