अन्तुडाँडामा सूर्योदयको दृश्यावलोकनका लागि बनाइएको भ्यु टावरमा पुगेका पर्यटक । तस्वीरः कोकिला ढकाल

इलाम । वर्षायाम सकिनै लाग्दा इलामको मौसम खुल्न थालेको छ । आकासे वर्षा नभएको दुई, चार दिन हुँदा इलामको अन्तुका लागि भने पर्यटकीय याम सुरु भएको छ । तराईको गर्मी उस्तै हुँदा अहिले अन्तुको चिसोमा रमाउनेहरू खचाखच हुन थालेका छन् ।

 

अझ भारतीय नागरिक अन्तु आएर निकै रमाउने गरेको यहाँका पर्यटन व्यवसायीको भनाइ छ । अहिले दैनिक तीन सयदेखि पाँच सय पर्यटकले अन्तुमा रात बिताउने गरेका छन् ।

 

मौसम खुलेपछि बिहानको सूर्योदय हेर्न रमाउनेको सङ्ख्या उस्तै हुने गरेको श्रीअन्तु पर्यटन व्यवसायी सङ्घका अध्यक्ष रुद्र घिमिरेले बताउँछन् । उनका अनुसार यहाँका होमस्टे, होटेल र कटेज बुकिङ हुन थालेका छन् । यस वर्ष फेसबुक, ट्विटर,

 

अन्तुमा यो वर्ष भारतको सिक्किम, दार्जिलिङ, गान्तोक, कलकत्ता, गुवाटी, आसामबाट ठुलो सङ्ख्यामा भारतीय आएका छन् । झापाको काँकडभिट्टा हुँदै नेपाल भित्रिएका पर्यटक कन्याम, अन्तु घुम्दै पाथीभरा देवीको दर्शन गरेर पशुपतिनगर हुँदै फर्कने गरेको अध्यक्ष घिमिरेले बताए ।

 

अन्तु पोखरीमा डुङ्गा सवार पनि अर्को आकर्षण भएको छ । त्यसो त चिया बारीबीचमा निर्माण भएका कटेज, यहाँ सञ्चालित राम्रै किसिमका होटेल र स्थानीय जनजीवनको रहनसहन बुझ्न चाहने पर्यटकलाई होमस्टेको बासले बढी तान्ने गरेको छ । सूर्योदयको दृश्यावलोकनका लागि सूर्योदय नगरपालिकाले टिकट लिने गरेको छ ।

 

प्रतिव्यक्ति ५० रुपैयाँ लाग्ने गरेको त्यहाँका कर्मचारी दीपेन पुलामीमगरले बताए । मगरका अनुसार चालु आव सुरु भएयता अन्तुमा करिब आठ हजार पर्यटक भित्रिएका छन् । गत आवमा भने करिब एक लाख पर्यटकले अन्तु भ्रमण गरेको तथ्यांक छ ।

 

फिक्कलनजिक छिपिटारबाट १३ किलोमिटर कालोपत्रे सडक पार गरेर अन्तु पुग्न सकिन्छ । यहाँ ६५ वटा सामुदायिक होमस्टे र होटेल तथा कटेज ८३ वटा रहेको श्रीअन्तु पर्यटन व्यवसायी सङ्घले जनाएको छ । गोरखापत्रबाट