अर्जुनधारा । झापाको अर्जुनधारा ४ नम्बर वडाका साना किसानहरुलाई लक्षित गरेर पशु सुत्केरी स्याहार प्रोत्साहन कार्यक्रम बुधबारदेखि सुरु गरिएको छ ।
चालु आर्थिक वर्ष ०८१/०८२ को स्वीकृत वार्षिक नीति तथा कार्यक्रमअनुसार वडा कार्यालयले वडामा रहेका साना पशुपालक किसानहरुलाई समेट्ने उद्देश्यले उक्त कार्यक्रम ल्याएको हो ।
कार्यक्रमअनुसार बुधबारदेखि सुत्केरी गाईभैँसी र तिनका बाछाबाछीलाई सप्लिमेन्ट वितरण सुरु गरिएको हो । वडाध्यक्ष अम्बरबहादुर कटुवालका अनुसार सप्लिमेन्टमा भिटामिनसहित तीन प्रकारका औषधि रहेका छन् ।
वडाध्यक्ष कटुवालका अनुसार यस आर्थिक वर्ष २ लाख ५० हजारको बजेटमा साना किसानलाई सप्लिमेन्ट वितरण गरिने छ । अहिलेसम्म सरकारी कार्यालयबाट अनुदान नपाएका साना २५० जना किसानलाई सप्लिमेन्ट वितरण गर्ने योजना रहेको छ ।
वडाध्यक्ष कटुवालको अध्यक्षतामा आयोजित कार्यक्रमका सहभागीहरुमध्ये ज्येष्ठ किसान डिल्लीप्रसाद न्यौपानेलाई सप्लिमेन्ट वितरण गर्दै कार्यक्रमको उद्घाटन गरिएको थियो । वडाका १३५ जनाले सप्लिमेन्टका लागि निवेदन वडा कार्यालयमा दिएका छन् ।
पाइलट प्रोजेक्टकोरुपमा यस आर्थिक वर्षमा गाई र भैंसी पाल्ने किसानहरुलाई प्राथमिकता दिइएको वडा सचिव सुरज राजवंशीले जानकारी दिए । उनका अनुसार वितरण गरिएको सप्लिमेन्टमा दुई लिटर क्यालसियम, पाँच सय मिलिलिटर लिवरटोनिक र बाछाबाछीका लागि चुर्ना र जुकाको औषधि रहेको छ ।
कृषकहरुलाई प्रत्यक्ष फाइदा पु¥याउने उद्देश्यले वडामा पहिलोपटक शुरु गरिएको यस कार्यक्रमलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिइने वडाध्यक्ष कटुवालले प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा नेपाली कांग्रेसका वडा सभापति खेमबहादुर काफ्ले, राष्ट्रिय स्वतन्त्र पार्टीका वडा अध्यक्ष कुमार राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका वडा अध्यक्ष रुद्रबहादुर खत्री, अग्रज पत्रकार दिपीन राईलगायतले कार्यक्रमको विषयमा आफ्नो धारणा राखेका थिए । वडा सदस्य अमृतबहादुर बुढाथोकीले कार्यक्रमको औचित्यसहित स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन वडा सचिव राजवंशीले गरेका थिए ।