झापा । असोज शुक्ल सप्तमीका दिन आज दुर्गापीठ, दशैँघर, कोत तथा घर-घरमा फूलपाती भित्र्याइँदै छ । हनुमानढोका दरबारको दशैँघरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ ।
घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा गरिएको दशैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, मानक, कचुर, दारिम, जयन्ती, अशोकको फूल र अन्य पालुवा भित्र्याउने चलन छ ।
नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौवटी देवीको प्रतीकको रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष एवम् धर्मशास्त्रविद् प्राध्यापक डा रामचन्द्र गौतमले बताए । फूलपाती भित्र्याउनका लागि साइतको आवश्यकता नपर्ने उनको भनाइ छ ।
यस्तै, हनुमानढोका दरबारको दशैँ घरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखाबाट धादिङको जीवनपुरसम्म दसैँ घरका पूजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङको जीवनपुरबाट काठमाण्डौको जमलसम्म काठमाण्डौबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रही आएको छ ।