भद्रपुर । झापाको भद्रपुरस्थित चारआली-चन्द्रगढी सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा घ़ाइते भएका अर्का एक व्यक्तिको पनि मृत्यु भएको छ ।
हिजो राति अन्दाजी २१ः५० बजेको समयमा भद्रपुर १० हनुमानचोकमा भएको दुर्घटनामा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा घाइते भएका दुई जनामध्ये गम्भीर अवस्थाका २५ वर्षीय सञ्जीव गिरीको उपचारकै क्रममा निधन भएको हो।
उनको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचार भइरहेको थियो। दुर्घटनामा परी भद्रपुर १० का २४ वर्षीय आलोक भण्डारीको हिजो राति नै मृत्यु भएको थियो। गम्भीर घाइते भएका उनको ओमसाई पाथिभरा अस्पताल पुर्याउनासाथ चिकित्सकले राति २२ः४३ बजे मृत घोषणा गरेका थिए ।
दुर्घटनामा घाइते भएका २४ वर्षीय बिपान्सु राउत भने सामान्य रहेको र प्रादेशिक अस्पतालमा उपचारपछि हाल घरमा आराम गरिरहेको पारिवारिक स्रोतले बताएको छ ।
प्रहरीका अनुसार चारआलीबाट चन्द्रगढीतर्फ जाँदै गरेको प्रदेश १-०१-०१४ प ९९३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मे. ८ प २८३७ नम्बरको मोटरसाइकल एकआपसमा जुधेका थिए ।
भण्डारीले प्रदेश १-०१-०१४ प ९९३ नम्बरको मोटरसाइकल चलाएका थिए भने उनको पछाडि राउतको बसेका थिए । त्यस्तै, गिरीले मे. ८ प २८३७ नम्बरको मोटरसाइकल चलाएका थिए ।