झापा । झापामा सवारी दुर्घटनामा परी एकैदिन चार जनाको मृत्यु भएको छ । झापाको विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको हो ।
चारै जनाको मोटरसाइकल दुर्घटनामा परी ज्यान गएको हो । २४ घण्टा नबित्दै जिल्लाभरि ७ वटा दुर्घटना भएको र ती दुर्घटनामा चार जनाको मृत्यु हुनुका साथै आठ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
ती सातवटा दुर्घटनामध्ये पाँचवटा मोटरसाइकल दुर्घटना भएका हुन् भने एक-एकवटा सिटी र ट्रयाक्टर दुर्घटना भएको कार्यालयले जनाएको छ ।
कमल गाउँपालिका ४ अमलडाँगीस्थित पूर्वपश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मध्यरातमा पूर्वपश्चिम राजमार्गमा केर्खाबाट दमकतर्फ जाँदै गरेको को २७ प ३५१३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा शिवसताक्षी ८ का ३३ वर्षीय अनिलकुमार लिम्बू र सोही ठाउँका २० वर्षीय सोमराज लिम्बूको मृत्यु भएको हो ।
त्यस्तै मेचीनगर ७ इँटाभट्टामा मोटरसाइकलको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको थियो । बिहान ६ः३० बजेतिर इँटाभट्टास्थित एनएमसी डेरी अगाडि होटल काँकरभिट्टतर्फ जाँदै गरेको मेची क्राउनमा काम गर्ने मेचीनगर ६ का २० वर्षीय अभिषेक लिम्बूले चलाएको प्र. ०१-१७ प ७४४ नम्बरको मोटरसाइकलले साइकलयात्री सगरमाथा यातायातका चालक मेचीनगर ७ का अन्दाजी ५० वर्षीय डिकेन राजवंशीलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा साइकल यात्री राजवंशी, मोटरसाइकल चालक लिम्बू ,मोटरसाइकलमा पछाडि सवार मेचीनगर ६ कै २१ वर्षीय रमेश श्रेष्ठसमेत तीन जना घाइते भएका थिए । घाइतेहरुलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाएकोमा उपचारको क्रममा साइकलयात्री राजवंशीको मृत्यु भएको हो ।
त्यस्तै दमक २ ढुकुरपानीस्थित भित्री सडकखण्डमा हिमालय मावितर्फ आउँदै गरेको प्रदेश १-०२-४१ प १७४७ नम्बरको मोटरसाइकलले साइकलयात्री सोही ठाउँ बस्ने ७६ वर्षीय जयराम गुरागाईलाई ठक्कर दिएको थियो ।
घाइते गुरागाईलाई आम्दा अस्पताल दमकमा सामान्य उपचारपश्चात् बीएण्डसी अस्पताल बिर्तामोड रेफर गरिएकोमा साँझ उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।