मोरङ । झापा ११ एफसीले बेलबारी गोल्डकपको उपाधि उचालेको छ । सिरहको सलहेस युवा क्लबलाई पराजित गर्दै झापा ११ सातौँ संस्करणको गोल्डकप च्याम्पियन बनेको हो ।

 

आज भएको फाइनल खेलमा टाइब्रेकरमा सिरहालाई ५-४ गोलअन्तरले हराउँदै झापाले उपाधि चुमेको हो । निर्धारित समय १-१ गोलको बराबरी भएपछि खेलको निर्णय टाईब्रेकरबाट लिइएको हो ।

 

टाइब्रेकरमा झापा ११ का दिनेश उराव, अभिषेक गुरुङ, शौरभ लिम्बू, उत्सव राई र देवेन्द्र तामाङले गोल गरे भने सलहेसका लागि राम थापा, आदित्य शाक्य र सन्तोष खत्रीको प्रहारमात्र गोलमा परिणत भएको थियो । समिर तामाङको प्रहार झापाका गोलरक्षक सन्दिप लिम्बूले बचाएका थिए ।

 

यसअघि ५०औं मिनेटमा सिराहाका अजयी मार्टिनले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । ७१औं मिनेटमा झापाका प्रदीप बुढाथोकीले गोल गर्दै खेल बराबरीमा पुर्याए ।

 

उपाधि जित्दै झापा ११ ले ८ लाख नगदसहित अढाई किलो चाँदीमा दुई तोला सुन जडित ट्रफी जितेको छ । यस्तै उप विजेता सिराहाले चार लाख नगदसहित ट्रफी प्राप्त गरेको छ ।

 

फाइनल खेलको प्लेयर अफ दी म्याच झापा ११ का अभिषेक गुरुङ घोषित भए । उनले नगद ५ हजार प्राप्त गरे । यस्तै, झापाका सन्दीप लिम्बू उत्कृष्ट गोलरक्षक, उत्सव राई उत्कृष्ट मिडफिल्डर, सन्तोष गुरुङ उत्कृष्ट कोच र देवेन्द्र तामाङ सर्वश्रेष्ठ खेलाडी घोषित भए । तामाङले १० हजार नगद पाउँदा अन्य खेलाडीले जनही ७ हजार नगद प्राप्त गरे ।

 

यस्तै, सिरहाका अजयी मार्टिनले सर्वाधिक गोलकर्ताको उपाधि प्राप्त गरे । उनले खेल अवधिमा पाँच गोल गरेका थिए । सलहेसका समीर तामाङले उत्कृष्ट फरर्वाडको उपाधिसँगै ७ हजार नगद र ट्रफी प्राप्त गरे ।