बिर्तामोड । झापाको विभिन्न स्थानमा भसडक दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ । कनकाई नगरपालिका ५ स्थित चप्रामारीको भित्री सडकमा मोटरसाइकलको ठक्करबाट स्थानीय एक बालकको घटनास्थलमै मृत्यु भएको हो ।

 

सोमबार बिहान १०ः४० बजे उत्तरबाट दक्षिणतर्फ गइरहेको मे ११ प ३३८ नम्बरको मोटरसाइकलले बाटोमा खेल्दै गरेको स्थानीय विनोद पाठकको ६ वर्षीय छोरा सोहन पाठकलाई ठक्कर दिँदा बालकको घटनास्थलमै मृत्यु भएको हो ।

 

ठक्कर दिने मोटरसाइकल चालक सोही स्थानमा बस्ने वर्ष २६ को आजात आलम मोटरसाइकल छाडेर फरार भएका छन् । उनको खोजी कार्य तीव्र बनाइएको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक किरण मोक्तानले बताए ।

 

यसैगरी, सडक दुर्घटनामा घाइते भएर उपचार गराइरहेका दुई जनाको अस्पतालमा मृत्यु भएको छ । प्रहरीका अनुसार शिवशताक्षी ८ का ६१ वर्षीय गणेश खड्का र झापा ६ का ४० वर्षीय कमनसिंह लिंखाका ७ वर्षीय छोरा अस्मिन लिंखाको उपचारको क्रममा मृत्यु भएको हो । दुवैजना कात्तिक १६ गते दुर्घटनामा परेका थिए ।

 

खड्काको बिएन्डसी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा सोमबार बिहान अन्दाजी ५ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

 

पूर्व-पश्चिम राजमार्गअन्तर्गत शिवशताक्षी–११ कृष्ण मन्दिरनजिक काँकरभिट्टाबाट धरानतर्फ जाँदै गरेको प्रदेश १-०२-००१ ख ९५३० नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेका साइकलयात्री खड्कालाई ठक्कर दिएको थियो ।

 

त्यस्तै, झापा गाउँपालिका ६ किराँतचोकस्थित भित्री पक्की सडक खण्डमा मोटरसाइकलको ठक्करबाट लिंखा घाइते भएका थिए । उनको बिएन्डसी अस्पतालमा आज बिहान ५ः१० बजे मृत्यु भएको हो ।

 

सुरुङ्गाबाट झापा बजारतर्फ जाँदै गरेको मे ७ प ५७५९ नम्बरको मोटरसाइकलले पैदलयात्री सोही ठाउँ बस्ने वर्ष ४० वर्षीय कमनसिंह र उनका छोरा अस्मिनलाई ठक्कर दिएको थियो ।