झापा । भारतबाट नेपालतर्फ शंकास्पद रुपमा प्रवेश गर्न लागेका दुईजना बंगलादेशी पक्राउ परेका छन् । आज (बुधबार) दिउँसो २ बजे झापाको मेचीनगर ७ स्थित गैरीगाउँ सीमा इलाकाबाट पक्राउ परेका हुन् ।

 

सीमा इलाकाको सानो सीमा स्तम्भ नम्बर ९०/३ नजिकबाट पक्राउ पर्ने बंगलादेशीहरुमा २२ वर्षीय अब्दुल रहमान र २५ वर्षीय रियाद हुसेन रहेका छन् । उनीहरुको साथबाट भिभो मोबाइल १ थान, सामसुङ मोबाइल १ थान, बंगलादेशी टाका १५०० र व्यक्तिगत सामानसहित २ वटा झोला बरामद भएको छ ।

 

बीओपी सतिघट्टाबाट खटिएको पिकेट ड्युटीले भारतबाट नेपालतर्फ शंकास्पदरुपमा प्रवेश गर्दै गरेको अवस्थामा चेकजाँच गर्दा कुनै पनि परिचयपत्र नभएको र आफ्नो स्थायी वतन बंगलादेश बताएपछि उनीहरुलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल नेपाल नं २ गण झापाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक महेशराज विष्टले बताए । उनले सामानसहित आवश्यक कार्वाहीको लागि दुवै जनालाई अध्यागमन कार्यालय काँकरभिट्टामा बुझाइएको जानकारी दिए ।