
झापा । झापाको चारआलीमा एकदिने ‘चारआली म्युजिक फेष्ट २०२५’ आयोजना हुने भएको छ । पहिलोपटक चारआलीमा हुन लागेको एकदिने संगीत महोत्सवमा लोकप्रिय ब्याण्ड जोन एन्ड द लोकल्सको प्रस्तुति रहने बताइएको छ ।
ब्रज इभेन्टको आयोजनामा फागुन ९ गते शुक्रबार चारआली चोकबाट करिब एक किलोमिटर दक्षिण निचाझोडा सिमसार नजिक हातेमालो ग्राउण्डमा महोत्सव हुने भएको हो । आयोजकले आज पत्रकार सम्मेलन गरी कार्यक्रमबारे जानकारी गरायो ।
सामाजिक सांगीतिक र पर्यटन विकासमा योगदानअन्तरगत बढ्दो लागूऔषध तथा दुव्र्यसनलाई न्यूनीकरणमा जोड, स्थानीय पर्यटन र ऐतिहासिक स्थलहरुको प्रवद्र्धन, स्थानीय कलाकार र संगीतप्रेमीहरुको प्रोत्साहन गर्ने उद्देश्यले ‘चारआली म्युजिक फेष्ट २०२५’ आयोजना गरिएको बताइएको छ ।
महोत्सवको मुख्य प्रायोजक ब्रिज इन्टरनेशनल बिर्तामोड रहेको छ भने विभिन्न साझेदार संस्थाहरु रहेका छन् । उक्त संगीत महोत्सवमा भारतसहित नेपालका ८ देखि १० हजार दर्शकको सहभागिता रहने आयोजकले अपेक्षा गरेको छ ।
हालसम्म ३ हजार ८ सय जेनेरल र भिआइपी टिकट बिक्री भइसकेको बताइएको छ । संगीत महोत्सव स्थलमा सुरक्षाका लागि १५० स्वयंसेवक, सेक्युरिटी गार्ड र सुरक्षाकर्मी परिचालन हुने बताइएको छ ।
पत्रकार सम्मेलनमा ब्रज इभेन्टका फूर्वा लामा, आकाश तामाङ, बसन्त लिम्बू, मेचीनगरका लागूऔषध अभियान्ता सन्जिव थापालगायतको उपस्थिति रहेको थियो । पत्रकार सम्मेलनको सहजीकरण मनिष गहतराजले गरेका थिए ।