शनिश्चरे । पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधारा जलेश्वरधामले प्रदेशमै पहिलो पटक निःशुल्क सामुहिक विवाह गर्ने भएको छ । अर्जुनधारा ७ मा रहेको धामको आयोजना तथा विश्व हिन्दू परिषद नेपालको समन्वयमा आगामी वैशाख ३ गते सामुहिक विवाह गर्न लागिएको हो ।

 

जलेश्वरधामले पत्रकार सम्मेलन गरी कम्तिमा २५ जोडी वरवधुको निःशुल्क सामुहिक विवाह गर्न लागिएको जानकारी दिएको हो । खर्च अभाव कारण विवाह गर्न नसेका वरवधुलाई सहज बनाउने उद्देश्यले निःशुल्क सामुहिक विवाह गर्न लागिएको अर्जुनधारा जलेश्वरधामका अध्यक्ष नविन गट्टानीले बताए ।

 

धामले विवाहका लागि केही मापदण्ड तयार गरेको छ । कानुनतः विवाह गर्न योग्य जोडीले परिवारको सहमति र वडाको सिफारिस आयोजकले माग गरेको छ । विवाहका वरवधुलाई एकसरो उपहारसमेत प्रदान गरिने अध्यक्ष गट्टानीले जानकारी दिए ।

 

सामुहिक विवाहका लागि प्रत्येक जोडी वरवधुका अलग–अलग मण्डप तथा पुजारी हुनुका साथै वरका तर्फबाट १० र वधुका तर्फबाट १० जनाको उपस्थिति रहने अध्यक्ष गट्टानीले बताएका छन् । विवाहको सम्पूर्ण खर्च धामले ब्यहोर्ने जनाइएको छ । कार्यक्रम सम्पन्न गर्न अनुमानित ३०-३५ लाख खर्च हुने बताइएको छ ।

 

पत्रकार सम्मेलनमा विश्वहिन्दू परिषद नेपाल कोशी प्रदेश महिला विभाग प्रमुख सितादेवी ढुङ्गानाले आफ्ना भनाइ राखेको पत्रकार सम्मेलनको सहजीकरण धामका महासचिव शिवलाल खतिवडाले गरेका थिए ।