
ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ५ याङसिला चोक नजिकै बोलेरो जिप दुर्घटना हुँदा चालकको ज्यान गएको छ भने सहचालक गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा परी घाइते भएका चालक पाँचथर फिदिम नगरपालिका ३ निवासी २५ वर्षीय सरोज श्रेष्ठलाई तापेथोकस्थित आधारभूत स्वास्थ्य चौकीमा उपचारका लागि लगिएको र स्वास्थ्यकर्मीले जाँच गर्दा उनको मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
बुधबार लेलेपबाट तापेथोकतर्फ आउँदै गरेको मे १ च ५१९३ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेको थियो । दुर्घटनामा सहचालक फिदिम नगरपालिका ३ कै सौजन श्रेष्ठको ढाडमा गम्भीर चोट लागेको छ ।
सामान्य उपचारपछि थप उपचारका लागि उनलाई जिल्ला अस्पताल ताप्लेजुङ पठाइएको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिए । प्रहरीका अनुसार घटनास्थल तापेथोक प्रहरी चौकीबाट करिब ३ किलोमिटर उत्तरतर्फ पर्छ ।