शनिश्चरे । सतासी बहुउद्देश्यीय सहकारी संस्था बिर्तामोडको सतासी महिला उपसमितिले आयोजना गरेको पाँचदिने प्राकृतिक रेशाजन्य हस्तकला तालिम आज सम्पन्न भएको छ ।

 

शनिश्चरेमा आयोजित तालिमबाट २५ जना महिला लाभान्वित भएका छन् । प्रशिक्षक सिर्जना याताको सहजीकरणमा सहभागीले खेर गइरहेको केराको दाम्चा (बोक्रा)बाट विभिन्न उपहारजन्य सामग्री उत्पादन गरेका थिए ।

 

समापन कार्यक्रममा बोल्दै अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देनले नगरको समृद्धि विकास निर्माणमात्र नभएर नगरबासी आत्मनिर्भर भएर आय आर्जनमा लाग्नु पनि समृद्धि हुने उल्लेख गरे ।

 

हस्तकलाबाट महिलाहरु आयमुलक व्यवसायमा आवद्ध भएर आत्मनिर्भर बनाउन नगरले नीति नै निर्माण गरेको उनले बताए । तालिमकी सहजकर्ता याताले महिला उद्यमलाई प्रोत्साहन गर्न नगरपालिकासमक्ष आग्रह गरिन् ।

 

सहकारीका अध्यक्ष रुद्रमणि श्रेष्ठको अध्यक्षता तथा सहकारीका प्रबन्धक झलेन्द्र दाहालले सञ्चालन गरेको कार्यक्रममा सतासी महिला उपसमितिकी संयोजक शर्मिला अधिकारीले स्वागत गरेकी थिइन् ।

 

नगर सभाहलमा भएको कार्यक्रममा महिला उद्यमी संघ नेपाल झापाकी कोषाध्यक्ष उमा सिटौला, अर्जुनधारा जलेश्वर सिकाइ केन्द्रकी अध्यक्ष पुनम सुवेदीलगायतले आफ्ना भनाइ राखेका थिए ।

 

प्राकृतिक रेशाजन्य केरा, पराल, काँस, सिस्नो, अलैँची र पटेरलगायतबाट हस्तकलाको उत्पादन गर्न सकिने बताइएको छ । तालिमबाट सीप सिकेर सहभागीमध्ये सुशिला घोष प्रथम भइन् भने आकांक्षा रिजाल दोस्रो र सविता चौहान तेस्रो भएकी थिइन् ।