बिर्तामोड । सुनसरीको इटहरीमा भएको सवारी दुर्घटनामा बिर्तामोडका दुई युवाको मृत्यु भएपछि यहाँका सुनचाँदी व्यवसायीहरु शोकाकुल भएका छन् ।

 

शनिबार बिहान ११ः२० बजे इटहरी उपमहानगरपालिका वडा नम्बर २० पानीपिया जंगलस्थित कोशी लोकमार्गमा धरानबाट इटहरीतर्फ आउँदै गरेको को २२ प २१२५ नम्बरको स्कुटर र इटहरीबाट धरानतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ ख ०४५५ नम्बरको बस एक आपसमा ठोक्किएको थियो ।

 

दुर्घटनामा स्कुटर चालक बिर्तामोड ५ बस्ने वर्ष अन्दाजी २६ का सुजन बिक र पछाडि सवार बिर्तामोड ५ कै बर्ष अन्दाजी २२ का सुरज बिकको मृत्यु भएको हो । दुवै घाइतेलाई उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा पठाएकोमा उपचारका क्रममा १२ः३० बजे दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

काका भतिजा सम्बन्धमा रहेका उनीहरु चतराबाट फर्किंदै गरेको बताइएको छ । स्कुटर, बस र बस चालक उदयपुर बेलका ३ बस्ने २९ वर्षीय प्रेम मगरलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ ।

 

बिर्तामोड र मोरङको बेलबारीमा सुनचाँदीको काम गर्ने सुजन र सुरजको मृत्युले बिर्तामोडका व्यवसायीहरु शोकाकुल बनेको नेपाल सुनचाँदी व्यवसायी संघ झापाका अध्यक्ष रमेश बराइलीले बताएका छन् ।