शनिश्चरे । झापाको अर्जुनधारा नगर क्षेत्रमा रहेका नदीजन्य पदार्थको अवैध दोहन गर्ने व्यक्ति तथा सवारीसाधनलाई अधिक्तम २ लाख रुपैयाँसम्म जरिवाना गरिने भएको छ ।

 

नगर क्षेत्रमा रहेका विरिङ, टाङटिङलगायत नदीहरुबाट अवैध दोहन हुन थालेपछि सोको नियन्त्रणका लागि नगरपालिकाले कदम चालेको जनाइएको छ । नगरपालिकाको आज बसेको कार्यपालिका बैठकले अवैध नदी दोहन गर्नेलाई कानूनी कारबाही र दोहन रोक्न सहयोग गर्नेलाई प्रोत्साहन गर्ने निर्णय पनि गरेको छ ।

 

निर्णयअनुसार खोलामा स्काभेटर लगाएर नदीजन्य सामग्री उत्खनन् गरेको पाइएमा २ लाख जरिवानासहित सामग्री जफत गरिने उल्लेख छ । यसैगरी, टिपर, ब्याकहो लोडर र ट्रकलाई १ लाख, मिनी ट्रक वा टिपरलाई ५० हजार र ट्याक्टरलाई २५ हजार जरिवाना गरिने भएको छ ।

 

नगरपालिका भएर बहने नदीहरुबाट नदीजन्य पदार्थको उत्खनन् तथा सङ्कलनका लागि कार्यालयबाट ठेक्का बन्दोवस्त नभएसम्म अनाधिकृत तवरले नदीजन्य पदार्थ उत्खनन् तथा सङ्कलन नगर्न नगराउनका लागि सार्वजनिक सूचना प्रकाशन गर्ने निर्णय गरिएको नगरप्रमुख बलदेवसिंह गोम्देन तामाङले जानकारी दिए ।

 

अर्जुनधाराको बिरिङ, टाङटिङ, नेते, सुखानी लगायतका नदीहरुबाट नदीजन्य पदार्थको उत्खनन् तथा संकलनका लागि प्रारम्भिक वातावरणीय परीक्षणलगायतका कार्य भइरहेको र ठेक्का बन्दोवस्त हुन बाँकी रहेको नगरपालिकाले जनाएको छ ।

 

असोज १ गतेदेखि अर्को सूचना नभएसम्म अनाधिकृत तवरले कसैले पनि उक्त नदीहरुबाट नदीजन्य पदार्थ उत्खनन् तथा संकलन नगर्नु नगराउनु सूचना प्रकाशन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनोजकुमार घिमिरेले बताए ।

 

बैठकले नदीजन्य पदार्थको अनाधिकृत उत्खनन् तथा संकलनको कार्य गरेको सूचना दिनेलाई जरिवाना रकमको १० प्रतिशत प्रदान गरिने छ भने सवारीसाधनलाई पक्राउ गरी बुझाउने व्यक्ति वा संस्थालाई जरिवानाबाट प्राप्त रकमको २५ प्रतिशत रकम पुरस्कारस्वरुप दिइने नगरपालिकाले जनाएको छ ।