
झापा । झापाको बिर्तामोड ७ मा धारिलो हतियार प्रहार गरी एकजनाको हत्या भएको छ । मृत्यु हुनेमा बिर्तामोड ७ का फुर्वा तामाङ रहेका छन् ।
गएराति बिर्तामोड ७ स्थित खोलापारी भन्ने ठाउँमा स्थानीय अन्दाजी ३५ वर्षका फुर्वा तामाङलाई सुतेको ठाउँमा सोही ठाउँका २८ वर्षीय प्रेमकुमार राई र उनका दाजु ३३ वर्षीय रामकुमार राईले धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् ।
बसिला र खुकुरीबाट तामाङको हत्या भएको जनाइएको छ । घटनामा प्रयोग भएको धारिलो हतियार खुकुरी र बसिला प्रहरीद्वारा बरामद गरिएको छ ।
हत्या गर्ने ब्यक्तिलाई स्थानीय गाउँलेले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका छन् । समयमै प्रहरी नआउँदा हत्यामा संलग्न प्रेमकुमार राईले मदिरा सेवन गरी अन्य स्थानीयलाई समेत हत्या गर्छु भनी आतंकित बनाएका थिए ।